थबाङका नानी-बाबु :

आहा ! चेमना टोपी (फाेटाे फिचर)

Breaknlinks
Breaknlinks

नेपाली सामाजमा केटाकेटीकेटीदेखि युवा र बुढापाकासम्म टोपी लगाउने चलन छ। टोपी लगाउनु नेपाली समाजमा कुनै नौलो  हाेइन, बरू याे छुट्टै पहिचानका रूपमा स्थापित छ। जस्ताे ढाका टोपी नेपालको राष्ट्रिय टोपी हो। टोपीले मानिसको राष्ट्रिय पहिचान झल्काउँछ। गाउँघर, सहर बजार जतासुकै विभिन्न प्रकारका टोपी लगाउँछन। महिला र पुरुष दुवैले विविध प्रकारको टोपी फेसनको रुपमा पनि मौसमअनुसार लगाउने गरिन्छ। 

भनिन्छ, बच्चाहरु भगवानका रुप हुन्। यी बच्चाहरुको स्याहारसुसारमा आमाको प्रमुख भूमिका हुन्छ। कलिला बच्चाहरु विभिन्न झिलिमिली पोशकमा झन सुन्दर देखिन्छ।

सामन्यत साना बच्चाहरुलाई न्यानोपन र सुरक्षाको लागि टोपी लगाइदिने प्रचनलन छ। हाम्रा गाउँ घरतिर पनि बच्चाहरुलाई सानैदेखि टोपी लगाइदिने प्रचलन छ। जसले बच्चाका टाउँकाे सुरक्षा दिनुका साथै सुन्दरता पनि झल्काउने गर्छ।

विषेशगरी पूर्वी रोल्पा-रुकुमलगायत पश्चिम बाग्लुङ जिल्लातिर मगर समुदायकाे बाहुल्यता रहेकाे क्षेत्र हाे। यहाँका बच्चाहरुको टाउकोमा झिलिमिली, सुन्दर तथा कलात्मक टोपीमा सजिएका नानीहरु देखिन्छ। कैयौं पटक यस क्षेत्रतिरको यात्रा गर्दा सधै यस्तै टोपी लगाएका बच्चा देख्ने बित्तिकै आँखा टक्क अडिन्छ र कैद भइहाल्छ।

रुकुम-रोल्पाका विभिन्न बस्तीतिर घुम्दा प्राय: महिला र पुरुषले बोकेका बच्चाहरु यस्तै झिलीमिली झुम्क्या टोपीमा सजिएका भेटिन्छ। आहा ! कति राम्रा देखिएका निर्दोष कलिला बच्चाहरु झुम्क्या टोपीमा।

कलात्मक शैलीका रंगिबिरंगी बुट्टा बनाइएका मखमली टोपीका मुन्तिर(तल) घेरातिर २-३ लाइन चाँदीका झुम्काहरुले मोडिएका हुन्छन।

उत्सुकता पूर्वक जिज्ञासा राख्दा स्थानीयहरु यसलाई ‘झुम्के वा झुम्क्या टोपी’ भन्दा रहेछन्। अर्थात् मगर खाम भाषामा ‘चेमना’ टोपी पनि भनिन्छ। प्राय: बच्चाको भात खुवाइदेखि फुपूले उपहार स्वरुप लगाइदिने चलन छ।

थबाङकी शिक्षिका श्रृष्टी बुढा मगरकाअनुसार जन्मेको ३ महिनादेखि ३ वर्षसम्म टोपी लगाउँछन। झुम्क्या टोपी मावलीबाट पनि उपहार स्वरुप ल्याइदिने पनि चलन छ। परामपरागत रीतिअनुसार घरको पहिलो छोरा वा छोरीलाई अनिवार्य रुपमा झुम्क्या टोपी लगाइदिने चलन छ।

यो टोपीको प्रमुख विषेशता स्याना नानीहरुलाई घामबाट सुरक्षा प्रदान गर्नु नै हो। यसका साथै यसले गर्मी मौसममा शितल र जाडोमा न्यानोपन प्रदान गर्दछ। यो टोपी हरेक मौसममा लगाउन मिल्छ। मखमलको कपडाबाट निकै मिहेनत गरेर हातले सिलाउँछन र चाँदीको सिक्का या चेमना मुनिको घेरामा मोड्डछन। टोपीको टुप्पामा फुर्का झुण्ड्याएको हुन्छ। यो टोपीको साथै हात र खुट्टामा बाला र छोरीको नाकमा सुनको टुकी (स्यानो फुली)सहित लगाइदिने प्रचनल छ। एउटा टोपीमा ५ ताेलादेखि माथिको चाँदी प्रयोग हुन्छ। उक्त झुम्क्या टोपीको मुल्य रु. ६ देखि १२ हजारसम्म पर्दछ।

अठार मगरात क्षेत्रमा पर्ने रोल्पा जिल्लाका थबाङ, मिरुल, उवा, जेलबाङ, फगाम, जैम कसला, हारजाङ, घुसबाङ, गाम, धाङसी दबाङ, राङसी, पाछाबाङ, ईरिबाङ साथै बाग्लुङ जिल्लाको निस्सी र भल्कोट क्षेत्रमा समेत झुम्क्या टोपी लगाउने प्रचलन छ। रुकुम (पूर्व) जिल्लाको मैकोट, हुकाम, कोल, राङसी, तकसेरा, काँक्री, लुकुम, मोराबाङ, क्याङसी, साकिम, काँडा, महतका गाउँहरुमा झुम्क्या टोपी लगाउँछन।

प्राय: यस क्षेत्रका बच्चाहरु झुम्क्या टोपीमा सजिएका हुन्छन। ती सा-साना अबाेध बच्चाहरूलाई यस्ता टोपी चितिक्क सुहाएका हुन्छन। अतिसुन्दर र प्यारा देखिन्छन र अलग्गै पहिचान पनि। झुम्क्या अर्थात्  चेमना टोपी मगर बाहुल्य क्षेत्रका पहिचानसँग पनि गहिरो नाता जोडिएको छ र यस क्षेत्रकाे सांस्कृतिक भेषभुषाको प्रतिबिम्बित गरको छ।

देशका अन्य भागतिर पनि बच्चालाई टोपी सुरक्षा र साैन्दर्यताकाे दृष्टिले टोपी लगाइदिने प्रचलन छ। सधै रोल्पा-रुकुमलगायत बाग्लुङतिर घुम्दा टोपी लगाएका बच्चाहरु प्रसस्तै भेटिन्छन्। तर, बिस्तारै आधुनिक टोपीको आगमनले झुम्क्या टोपी विस्थापन हुन सक्छ। यसको मूल्य बढ्दै गएको  र सस्ता आधुनिक टोपीले स्थान ओगट्दै गएको छ।

अठार मगरात क्षेत्रका संस्कृती, परम्परा र पहिचानसँग जोडिएको यो झुम्क्या टोपी (चेमना टोपी)को संरक्षण गर्न स्थानीय गाउँपालिका र सरोकारवालाले ‘बाल पहिरन’ जस्ता प्रतियोगिता आयोजना गर्न सके यो टोपी विस्थापन र लोप हुनबाट जोगिनेछ।

यसको साथै स्थानीय भेषभुषाको संरक्षण, प्रोत्साहन र प्रवर्धन गर्नमा मद्दत पुग्ने थियो कि !

भर्खर थबाङ भ्रमणको बेला कैद गरिएका थबाङका केही झुम्क्या टोपीमा सजिएका र अन्य सुन्दर बच्चाहरुका तस्बिर।

प्रकाशित मिति: : 2022-04-22 20:20:00

प्रतिकृया दिनुहोस्