नेपालको भू–राजनीतिमा छिमेकी प्रतिस्पर्धा : हिमाल उक्लँदै भारत, तराई झर्दै चीन

गणेश लम्सालविवेक पोख्रेल/उपेन्द्र पोखरेल
महोत्तरीको गौशाला नगरपालिकाले गत वर्ष चीनको सान्सी प्रान्तको सिन्चउ नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने र ६० करोड अमेरिकी डलर लगानी भित्र्याउने योजना अघि बढायो । भगिनी सम्बन्ध स्थापनामा प्रदेश २ सरकारले अवरोध ग¥यो भने लगानी भित्र्याउन संघीय सरकारले रोक्यो । चीनबाट लगानी ल्याएर ४० वटा उद्योगसहितको औद्योगिक क्षेत्र स्थापना गर्ने नगरपालिकाको योजना तुहियो । संघ र प्रदेशको अवरोध नभएको भए गौशाला नगरपालिका प्रदेश २ मा चिनियाँ सहरसँग भगिनी सम्बन्ध स्थापना गर्दै लगानी भित्र्याउने पहिलो पालिका बन्ने थियो ।

१२ वैशाख ०७२ को भूकम्पबाट क्षतिग्रस्त २८ वटा सम्पदाको पुनर्निर्माण भारतीय सहयोगमा हुँदै छ । त्यसमा चीनसँग सीमा जोडिएका सिन्धुपाल्चोकका सात, रसुवाका चार तथा सोलुखुम्बु र धादिङका एक–एक गुम्बा पनि छन् । त्यस्तै, नुवाकोटस्थित तीन गुम्बा तथा काठमाडौं, भक्तपुर र ललितपुरका ११ वटा सम्पदा पनि भारतीय सहयोगमा बन्दै छन् । यसअघि सिन्धुपाल्चोक लिसंखु–३ स्थित च्योइफेल कुन्डेलिङ गुम्बा भारतीय दूतावासको सहयोगमा पुनर्निर्माण भएको थियो । 

नेपाली भूमिमा दक्षिणी छिमेकी भारत चीनको सीमासम्म र उत्तरी छिमेकी चीन भारतीय सीमासम्म पुग्दै गरेका यी पछिल्ला उदाहरण हुन् । भारत काठमाडौंस्थित दूतावासमार्फत सञ्चालित साना विकास परियोजनाको माध्यमबाट पहाडी र हिमाली जिल्लासम्म पुगेको छ भने चीनले तराईका जिल्लाहरूमा सक्रियता बढाएको छ । 

सन् २००८ यता भारतीय दूतावासले नेपालभर साना–ठूला गरी दुई सय ३७ आयोजनामा ३७ अर्ब ८१ करोड रुपैयाँ लगानी गरेको छ । पछिल्लो समय उसले आफ्नो लगानी पनि पहाडी र हिमाली जिल्लातर्फ सोझ्याएको छ । अहिले २१ वटा हिमाली जिल्लामा भारतीय लगानीका ३० परियोजना छन्, जसमा ८८ करोड ४१ लाख लगानी छ ।

प्रकाशित मिति: : 2021-01-02 08:57:00

प्रतिकृया दिनुहोस्