पाठक बन्दैछन् प्रविधिमैत्री, अनलाइनमार्फत घरैमा पुस्तक

हिमाल खबर

काठमाडौँ

नुनुता राई 

आफूलाई नयाँ पुस्तकको गन्धले नै आकर्षित गर्ने विश्लेषक हरि शर्माले बताएका थिए। साहित्यकार शारदा शर्माले पनि करिब दुई वर्षअघि दिएको अन्तर्वार्तामा आफूलाई नयाँ पुस्तकको गन्ध खूब मन पर्ने बताएकी थिइन्।

धेरै नेपाली पाठक पसलमै गएर ओल्टाइपल्टाई पुस्तक हेरेर, गन्ध सुँघेर किन्ने बानी परेका छन्। वन्डर बुक्सले दुई वर्षअघि अनलाइनबाट पुस्तक बेच्न शुरु गर्दा यो चुनौती पार लगाउनुपर्ने थियो। किनभने हरि शर्मा र शारदा शर्माले जस्तै गन्धबाटै आकर्षित हुने पाठक नेपालमा धेरै छन्।

कोरोनाभाइरस महामारीका कारण पाठकले यो बानी परिवर्तन गर्नैपर्ने बाध्यता भयो। बन्दाबन्दीपछि त्यसको असर पाठकमा पर्न शुरु भयो। अनि प्रायः अंग्रेजी पुस्तकको मात्र माग आउने वन्डर बुक्समा नेपाली पुस्तकको पनि माग आउन थाल्यो। वन्डर बुक्सका अध्यक्ष अनुराग नेपाल भन्छन्, “बन्दाबन्दीअघि सामान्य चलिरहेको थियो। बढी जस्तो अंग्रेजी पुस्तकको माग हुन्थ्यो। बन्दाबन्दी र त्यसपछि नेपाली पुस्तकहरुको पनि माग भइरहेको छ।”

बन्दाबन्दीपछि अनलाइन पुस्तक माग गर्ने ग्राहकको उमेर समूह पनि फराकिलो भएको उनी बताउँछन्। वन्डर बुक्सबाट अंग्रजी पुस्तक माग गर्ने अधिकांश २० देखि ३५ वर्षबीचका थिए। तर, अहिले त्यसभन्दा माथिका उमेर समूहबाट पनि प्रशस्त माग भइरहेको छ।
 

प्रकाशित मिति: : 2021-01-03 11:26:00

प्रतिकृया दिनुहोस्