जेष्ठ नागरिकलाई पढाएर अन्तर्राष्ट्रिय पुरस्कार जितेका ‘चट्याङ मास्टर’ (भिडियाेसहित)

कमल प्रभात

काठमाडाैं

देश बनाउन हिँडेका नेताहरू हास्यव्यंग्यमा सक्रिय भएपछि यस विधामा लामो समय सक्रिय कृष्णमुरारी गौतम (चट्याङ मास्टर) एकाएक गुमनाम भए। उनका पाठकले बीचबीचमा उनलाई नखोजेका होइनन्। तर, आफूलाई नै मात ख्वाउने नेताहरू चौबाटोमा बसेर नाटक मञ्चन गर्न थालेपछि उनी गायव भए।  

‘सिस्नुपानी’ स्थापनासँगै हास्यव्यंग्य साहित्यका माध्यमबाट राजनितिज्ञलाई चोटिलो प्रहार गर्ने चट्याङ मास्टर अहिले ‘एजिङ नेपाल’ सँग आवद्ध भएर जेष्ठ नागरिकलाई सवलीकारण, हक तथा अधिकारको लागि काम गरिरहेका छन्।

चट्याङ मास्टरले सन् २०११ मा स्थापना गरेको गैरसरकारी संस्था हो ‘एजिङ नेपाल’। जसले जेष्ठ नागरिकको लागि काम गर्छ।  एजिङ नेपालको विषयमा चट्याङ मास्टर भन्छन्, ‘यसले वृद्धवृद्धाको चासोको विषय बाहेक अरु केही पनि गर्दैन।’

मानिस जन्मेपछि बुढो हुन्छ। युवा अवस्थामा सबैको हाई–हाई भएका मान्छेको जब उमेर ढल्किदै जान्छ, सबैको हेलाको पात्र बन्नुपर्छ। 

आफैले अनेक दुःख कष्ट गरेर हुर्काएका सन्तानले बुढेसकालमा आफ्नो साथ छोड्दा अबको बाँकी जीवनको गुजरा कसरी चलाउने भन्ने विषयमा चिन्तित हुन्छन्। जेष्ठ नागरिकलाई यस्तै चिन्ताबाट मुक्त गराउने काम ‘एजिङ नेपाल’ ले गर्छ।  

‘सडकमा भएका बालबालिका र महिलाको लागि सबैले काम गरेको देखे। तर, ठूलो संख्यामा रहेका जेष्ठ नागरिकको लागि कसैले काम गरेको देखिन। यसपछि यो काम गर्नुपर्छ भन्ने सोच मनमा पलायो,’ उनी भन्छन्। 

सँगै समाजमा बसेका जेष्ठ नागरिकले जीवनभन्दा मृत्युलाई रुचाएको देखेर उनको मन निकै खिन्न भयो। त्यही प्रेरणाले उनले ‘एजिङ नेपाल’ मार्फत जेष्ठ नागरिकको लागि काम गर्न थाले।

हाम्रो समाजमा सबैभन्दा धेरै हेलाको पात्र बन्नुको कारण जेष्ठ नागरिक निरक्षर हुनु र नयाँ प्रविधिको प्रयोग गर्न नसक्नु हो। त्यसैले समाजमा रहेका अशिक्षित जेष्ठ नागरिकलाई साक्षर बनाउन अत्यावश्यक भएको महसुस पनि चट्याङ मास्टरले गरे। त्यसैले त उनले जेष्ठ नागरिकलाई पढाउने योजना बनाए।  

‘सुरुमा जेष्ठ नागरिकलाई पढाने योजना सुनाउँदा धेरैले मलाई उल्लु बनाउँथे तर म आफैमा कन्भिन्स भएकोले पछि हटिन,’ उनले भने। ‘एजिङ नेपाल’ ले काठमाडौंको कपनमा कोठा भाडामा लिएर जेष्ठ नागरिकलाई पढाउने गर्छ। त्यो क्षेत्रका धेरै जसो सुकुमवासी ग्रामिण क्षेत्रबाट आएका छन्। उनीहरूले नयाँ बस्ती बनाउँदै गरेको हुनाले उनले पनि सोही स्थानलाई जेष्ठ नागरिक पढाउने अभियानको रुपमा छनोट गरे। 

‘पहिल त उहाँहरूलाई जम्मा पार्न नै गाह्रो हुन्थ्यो। बल्लतल्ल हात जोडेर पढ्नको लागि  बोलाउनु प¥यो,’ चट्याङ मास्टरले बताए, ‘आइदिनुन् तपाईँकै लागि हो भनेर बोलाउनु पथ्र्याे, सुरुमा उहाँहरूलाई कन्भिन्स गर्ने गाह्रो भयो।’

तर, विस्तारै कक्षा कोठामा आएर पढ्नेको संख्या बढ्न थाल्यो। पढ्न आउनेमा सरकारी कर्मचारीका बुवा–आमा, सचिवका बुवा–आमादेखी ज्यामी काम गर्नेका बुवा–आमासमेत भए। त्यसमध्ये सबैभन्दा धेरै पढ्नुपर्छ भन्ने हुटहुटी ज्यामी बुवा–आमामा पाइएको चट्याङ मास्टरको अनुभव छ।  

‘जेष्ठ नागरिकलाई पढाउन बच्चालाई जस्तो सजिलो नहुने रहेछ,’ चट्याङ मास्टरले बिएल नेपाली सेवासँग आफ्नो अनुभव सुनाए, ‘एक वर्षसम्म पढाउँदा केही प्रगति भएन। उनीहरुको पढाउने तरीका प्रभावकारी भएन। त्यसपछि जेष्ठ नागरिकलाई पढाउने नयाँ विधिको खोजीमा लागे।’  

त्यतिवेला ‘एजिङ नेपाल’ ले जेष्ठ नागरिकको सवलीकरण, हक र अधिकारको बारेमा खोज अनुसन्धानसहितको पत्रिका प्रकाशन गथ्र्याे। त्यो पत्रिका नेपालसँगै विश्वका धेरै देशमा पुग्थ्यो। जेष्ठ नागरिकलाई पढाउने विधिको खोजी भएको समाचार पढेर नेपालमा प्रौढ शिक्षाको काम गरेर अमेरिका पलायन भएका एक व्यक्तिले पढाउने विधिबारे सल्लाह दिए। उनको सहयोगमा ‘एजिङ नेपाल’ ले जेष्ठ नागरिकलाई पढाउने नयाँ विधिको पाठ्यक्रम बनायो। नयाँ व्यवस्थापन र तरिकाबाट पढाउँदा सहज भयो।

अहिले त्यहाँ पढ्ने धेरै निरक्षरबाट साक्षर बनेका छन्। धेरै जसोेले आफै पत्रिका पढ्न सक्ने भएका छन्। कतिपयले सामाजिक सञ्जाल राम्रोसँग चलाउने गर्छन। आफ्नो घरमा ल्याएका नयाँ प्रविधि आफै चलाउन सक्ने भएका छन्। सरकारले जेष्ठ नागरिकको लागि बनाएका योजना तथा नीति राम्रोसँग बुझ्ने भएका छन्।

सरकारले गरेका नराम्रा काम र आफ्नो अधिकारको लागि सरकारलाई घँचघँचाउने र जुलु्समा जान सक्ने भएको देख्दा आफूलाई खुसी लागेको चट्याङ मास्टर बताउँछन्। पहिला घरको बोझ भएका जेष्ठ नागरिक अहिले घरमा सल्लाहकार जस्तो भएका छन्। समाजका हरेक क्रियाकलापको चासो राख्ने भएका छन्। 

‘पढ्न आएका जेष्ठ नागरिकले केटाकेटीको जस्तो व्यवहार गरेको देख्दा आफूलाई रमाइलो लाग्ने रहेछ’, चट्याङ मास्टर बताउँछन्। 

कतिपयले पढ्न थालेपछि श्रृंगारसमेत गर्न थालेका छन्। ‘त्यस्तो बैरागी रुपमा बसेको मान्छेमा यस्तो रंगीन बन्ने चाहना कहाँबाट आयो। आखिर जेष्ठ नागरिकलाई पनि आफ्नो जीवन रंगीन बनाउने चाहना हुँदोरहेछ। हामीले उहाँहरूलाई हेला होइन माया गर्नुपर्ने रहेछ,’ उनी भन्छन्।  

मानिस जन्मेपछि एक दिन बुढो हुनैपर्छ, त्यसैले अहिलेदेखी नै जेष्ठ नागरिकलाई सम्मान गर्ने समाजको निर्माण गर्न जरुरी रहेको चट्याङ मास्टरको ठ्म्याई छ। 

‘एजिङ नेपाल’ ले जेष्ठ नागरिकको अवस्थाको बारेमा तथ्यांक संकलन गर्ने गर्छ। सरकारले त्यही तथ्यांकको आधारमा जेष्ठ नागरिकको नीति निर्माण गर्छ। जेष्ठ नागरिकको आवाज  उठाउन पत्रिका पनि प्रकाशन गर्दे आइरहेको छ, जुन विश्वका धेरै देशमा पुग्ने गर्छ। संस्थाले जेष्ठ नागरिकको विषयमा विधाबारिधि गर्ने ५ जना विद्यार्थीलाई छात्रवृति पनि उपलब्ध गराउदै आएको छ।   

जेष्ठ नागरिकको लागि आवश्यक खर्चमध्ये धेरै जसो घरपरिवारले नै व्यावस्थापन गर्दैआइरहेका छन्। केही सहयोगीले पनि रकम पठाउने गरेका छन्। ‘कतिपयले कोठा भाडा तिरिदिने, कपी कलमको व्यवस्था मिलाइदिने गरेका छन्,’ चट्याङ मास्टरको भनाई छ। 

अन्तर्राष्ट्रिय पुरस्कारदेखि न्यूयोर्क समारोहका मुख्य वक्तासम्म

संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले गतवर्ष विश्व प्रसिद्ध ‘युनेस्को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार २०२०’ एजिङ नेपाललाई प्रदान गरेको छ। एजिङ नेपालले सञ्चालन गरेको ‘जेष्ठ नागरिक आधारभुत शिक्षा कार्यक्रम’ विश्वभरिका प्रतिस्पर्धी मध्ये सर्वाेत्कृष्ट ठहरिएको थियो। 

आफूले गरेको कामले नेपाललाई विश्वसामु चिनाउन पाएकोमा अत्यन्त खुसी छन्,  चट्याङ मास्टर। संयुक्त राष्ट्रसंघले न्यूयोर्कस्थित आफ्नो मुख्य कार्यालयमा आयोजित विश्व जेष्ठ नागरिक दिवस (१अक्टुबर २०१९) समारोहमा सम्बोधन गर्न चट्याङ मास्टरलाई मुख्य वक्ताको रुपमा आमन्त्रित गरेको थियो।  

बुढाबुढीको लाठी बुढौली साहित्य

चट्याङ मास्टर हास्यव्यंग्य साहित्यमा लामोसम्म जीवन बिताएका व्यक्ति हुन। उनका आठ वटा ‘चट्याङ गीत’ नामक पुस्तक प्रकाशित छन्।

हास्यव्यंग्य क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले २०५५ सालमा चट्याङ मास्टर लगायत केही साहित्यकार मिलेर ‘सिस्नुपानी नेपाल’ स्थापना गरेका थिए। अहिले ‘सिस्नुपानी’ले देउसी भैलोको माध्यमबाट राजनीतिज्ञलाई चोटिलो व्यंग्य प्रहार गर्नेगर्छ। 

अहिले चट्याङ मास्टर जेष्ठ नागरिकको लागि कविता लेख्ने गर्छन। जेष्ठ नागरिकको विषयमा साहित्य लेख्नेलाई सम्मान पनि गर्छन। धेरै साहित्यकारले जेष्ठ नागरिकको बारेमा नखेकोमा उनको गुनासो छ। अहिले ‘एजिङ नेपाल’ मार्फत शिक्षा लिएका जेष्ठ नागरिकले पनि आफ्नो बारेमा साहित्य लेखे भने आफू सन्तुष्ट हुने उनको भनाई छ। 

प्रकाशित मिति: : 2021-01-05 21:53:00

प्रतिकृया दिनुहोस्

    Inspiring work

    • 3 बर्ष अगाडि
    • Kusum Sharma

    राम्रो लाग्यो। संस्थाको सम्पर्कमा कसरी आउन सकिन्छ।

    • 3 बर्ष अगाडि
    • काशीराज सुवेदी