देश प्यारो, तर बाँच्नै गाह्रो

नेपाल लाइभ

काठमाडाैं

काठमाडौं– बिहानको ९ बजेको छ। पुसको कठ्यांग्रिने ठिहीकाे पर्वाह नगर्दै झलकबहादुर परियार कंक्रिट मिक्स्चर फिटिङ गर्न तल्लीन थिए। हात चिसाेले कक्रक्क थिए। जिम्मेवारीले कक्रक्क बनाएपछि चिसाेकाे पर्वाह नहुने रहेछ। उदयपुर कटारीका २१ वर्षीय परियार काममा खटिएका छन्। 

‘एकदम चिसो बढेको छ। त्यसमाथि बिहान-बिहान चिसिएको फलामले हात एकदम ठिहिर्‍याउँछ,’ नजिकै फालिएको पन्जा टिपेर हात घुसाउँदै उनले सुनाए। उनीसँगै मिक्स्चर फिटिङ गर्ने अर्का युवा थिए। उनले पनि नजिकै फालिएको पन्जा टिपेर हातमा लगाए र काम गर्न थाले। तर हेल्पर कामका लागि आएका अर्का एक साना बालकले त्यो फालेको पन्जा पनि पाएका थिएनन्। उनी यत्तिकै काम सघाउँदै थिए।

घर ढलान गर्ने बेलामा उनीहरु यसैगरी कंक्रिड मिक्स्चर फिटिङ गर्छन्। मिक्स्चर चलाउँछन् । र, ढलानको काम सकिएपछि त्यो मिक्स्चर फेरि खुस्काउँछन्। र, जहाँ काम हुन्छ त्यहाँ पुर्‍याउँछन्। 

हेर्दा सजिलोजस्तो देखिए पनि काम गाह्रो छ। मेसिन जोड्ने बेला र खुस्काउँदा निकै खतरनाक हुन्छ। नट कस्दै-कस्दै भर्‍याङ बनाउनुपर्छ। त्यही फलामको भर्‍याङबाट अग्लो-अग्लो घरको छतमा पुग्नुपर्छ । 

‘जति तल्लाको घर बनायो त्यति माथि चढ्नुपर्छ। अलिकति खुट्टा चिप्लियो भने गइयो,’ नट कस्दै उनले सुनाए।

प्रकाशित मिति: : 2021-01-08 08:47:00

प्रतिकृया दिनुहोस्