बारम्बार डोजर लिएर सुकुम्बासीमाथि किन जाइलाग्छ सरकार ?

शिलापत्र

काठमाडाैं

हरेक वर्ष सुकुम्बासी बस्तीका टहरा भत्काउन कि जाडो मौसम रोजिन्छ कि बर्खा । २४ पुस काठमाडौंको गैरी गाउँस्थित बस्तीमा डोजर चल्यो । एकाएक डोजरले टहरा मिचेपछि उनीहरूले गुहार माग्दै भने, ‘हामीलाई सत्ता चाहिँदैन, जाडो छल्न छानो त देऊ ।’

पुस पहिलो साता सिरहामा ३० भन्दा बढी घरपरिवार रहेको सुकुम्बासी बस्ती डोजर चलाएर सखाप पारियो । झरीको मौसम ३ साउनमा चितवनको माडीमा रहेका चेपाङका छाप्रामा आगजनी गरियो, हात्ती लगाइयो ।

३० फागुन २०७६ मा तत्कालिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल हेलिकोप्टर चढेर सुकुम्बासीका टहरा भत्काउन आफैँ महोत्तरी पुगिन् । 

२०७६ असार अन्तिम साताको झरीबीच कैलालीमा सुकुम्बासी बस्तीमा डोजरसहित गुण्डा परिचालन गरियो । १३ फागुन २०७६ मा विराटनगरमा सुकुम्बासी बस्तीमा डोजर चलाउन खोज्दा प्रहरी र स्थानीयबीच झडप नै भयो ।

शितलहर र वर्षाको मौका छोपेर सुकुम्बासीमाथि सत्ताले डोजरको कहर थप्छ । कहिले विकासका नाममा सुकुम्बासी बस्तीमा डोजर चल्छ । मन्त्री र नेताले प्रधानमन्त्री निवासको जग्गा हडप्दा पनि मौन रहने सत्ताले सुकुम्बासीलाई अतिक्रमणकारी करार गर्दै बस्तीमाथि डोजर चलाउँछ ।

२६ वैशाख ०६९ मा बागमती कोरिडोर विस्तार गर्ने भन्दै थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाइयो । डोजरसँगै सुकुम्बासीमाथि प्रहरीको लाठी चल्यो । अश्रु ग्यास चल्यो । दैनिक ज्याला मजदुरी गरेर बनाएको ३ सय जति छाप्रा निमेषभरमै भग्नावशेष बनाइयो । 

बारम्बार डोजर आक्रमणको सामना गरिरहेका सुकुम्बासी मजदुरी गरेर साँझ फर्किंदा घर भत्किसकेको हुन्छ कि भन्ने त्रासमा हुन्छन् । मानविय जीवनका आधारभूत सेवा र सुविधाबाट वञ्चित सुकुम्बासीलाई राज्यको आड, भरोसा होइन डर छ । राज्यले नै उठीबास लगाउँछ कि भन्ने चिन्ता छ । 

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७३ सालमा सार्वजनिक गरेको प्रतिवेदनले काठमाडौंमा १ हजार ४ सय ६५ परिवार सुकुम्बासीको रूपमा उपत्यकाका नदी किनारमा बसिरहेको देखाएको थियो । त्यसयता सुकुम्बासीको विषयमा खासै अध्ययन भएको देखिँदैन । तर, छाप्रा, टहरा देख्यो कि सरकार डोजर लिएर हाजिर हुन्छ ।

प्रकाशित मिति: : 2021-01-09 11:42:00

प्रतिकृया दिनुहोस्