देशको बाँकी समय बर्बाद हुन नदिन ताजा जनादेशमा जाने निर्णय गरेँ: प्रधानमन्त्री ओली (भिडियो)

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतलाई खण्डित गर्ने र ध्वस्त पारेर अनुचित गठजोडमा लागेर राजनीतिलाई नै प्रदूषित बनाउन लागेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताएका छन् ।

राष्ट्रियसभाको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रचण्ड र माधवकुमार नेपालको नाम नलिई उक्त कुरा बताएका हुन्। 

‘केही व्यक्तिका महत्वाकांक्षा र पदलोलुपताले राष्ट्रिय व्यक्तिगत मोलतोल र फोहोरी खेलमा लागेपछि देशको बाँकी समय बर्बाद हुन नदिन ताजा जनादेशमा जाने निर्णय गरेको हुँ,’ उनले भने। 

ओलीले जनताले पाँच वर्ष सरकार चलोस् भन्ने जनताको इच्छा रहेको बताए।

‘सरकारलाई काम गर्न नदिएका कारण ५ वर्ष चल्नु पर्ने प्रतिनिधिसभा सरकारलाई काम गर्न नदिने, व्यवधान खडा गर्ने, जहिले पनि झमेलमात्रै सिर्जना गरेपछि विघटन गर्नुपर्‍यो,’ उनले भने। 

उनले पार्टी र सरकार विघटन गर्न प्रचण्डको घरमा मात्र वैशाख १३ देखि पुस ४ सम्म २८० वटा गुटका बैठक बसेको र ३५ वटा बैठक अन्यत्र बसेको दावी गरे ।

‘संसदलाई समेत काम नगर्ने थलो बनाउन पटक पटक बैठक बसे।  सरकारले लगेका विधेयक सभामुखले निर्णयार्थ पेश नगर्ने जस्ता असहयोग पनि गरे,’ उनले भने। 

ओलीले ती सबै बैठक मुलुकलाई अस्थिरतामा लैजाने र अनैतिक साँठगाँठबाट भएको बताए ।

प्रकाशित मिति: : 2021-01-10 13:45:00

प्रतिकृया दिनुहोस्