अविभावकले साथ नदिँदा अभिनय गर्न नपाएकी अस्मिना ठूलो ब्रेकको प्रतिक्षामा (भिडियाे)

ईश्वरी राई (इशु)

काठमाडाै‌ं

अस्मिना शर्मा, २१। जतिबेला गाउँमा थिइन् उनलाई हिरोनी बन्ने हुटहुटीले तान्यो। कक्षा ३ मा अध्ययनरत रहँदा साँखु पालुबारी शंखरापुरमा मुगलान फिल्मको सुटिङ हुँदैथियो। त्यसमा कलाकार थिए दिलिप रायमाझी, रमित ढुंगाना र झरना थापा।

उनीहरुको अभिनय देखेर आफू पनि कलाकार भएको सपना देख्न थालिन् र झरनासँग आफ्नो तुलना गर्न भ्याइन्।  

यतिबेला दिलिपलाई उनले भन्नसमेत भ्याएकी थिइन्, 'म पनि तपाईहरु जस्तै कलाकार बन्छु।' उनलाई दिलिपले काखमा राख्दै भनेका रहेछन्, 'ठूलो भएर हामी जस्तै कलाकार बन्नु ल।' 

त्यसदिन उनी राम्रोसँग निदाउन सकिनन्। कलाकार बन्ने सोचले निन्द्रा नै भाग्यो। पढाईभन्दा अभिनयलाई उनले आफ्नो लक्ष्य बनाउन थालिन्। अब उनी कल्पनाको संसारमा डुब्न थालिन्। 'म महसुस गर्न चाहन्थे, नाटक गर्दा कस्तो हुन्छ' उनले विगत सुनाइन्। 

शिक्षकले पढाउँदै  गर्दा ठूलो भएर के गर्छौं भनेर विधार्थीलाई सोध्ने गर्थे। कसैलेको उत्तर डाक्टर, कसैको इन्जिनियर त कसैको पुलिस हुन्थ्यो। तर उनले उत्तर 'कलाकार बनेर चिनिन्छु’ भन्ने नै हुन्थ्यो। उनको कुरा सुनेर कक्षाका अन्य विद्यार्थी पनि जिल्ल पर्थे। 

कलाकार बन्छु र पपुलर हुन्छु भनेर उनले सानो मै सोचिसकेकी थिइन्। उनको यो अभियानमा बुवा सितारामले साथ दिए। 'मलाई मेरा बाबाले कला क्षेत्रमा पुर्याउने काम गर्नुभयो', बच्चा बेलाको कुरा स्मरण गर्दै उनले भनिन्, 'परिवारले सहयोग गर्छन् भनेर मख्ख थिए।' 

सितारामकी तीन केटाकेटीमध्ये उनी एक्ली छोरी र दुई भाई कि दिदी थिइन्। त्यसैले घरमा उनलाई सबैले माया गर्थे। भन्नुपर्दा पुलपुलिएर हुर्किएकी थिइन्। 

एक्ली छोरी भएकै कारण आमा अम्बिकाले पनि घरायसी काममा उनलाई अड्काइनन्। आमाबुवा भन्ने गर्थे, 'छोरी राम्रोसँग पढ। अरु काम गर्नुपर्दैन तिमीले।' 

'एभरग्रिन हाइलर सेकेण्डरी स्कुल' बाट 'एसएलसी' दिइसक्दा पनि उनले काम धन्दामा हात हाल्नु परेन। १० को परीक्षा दिएर उनी ब्युटी पार्लर धाउँने गर्थिन्। 'त्यतिखेर फ्रि थिए, त्यसैले काम सिक्ने विचार गरे' उनले भनिन्। 

उच्च माध्यमिक तहको लागि उनी जय मल्टिपल क्याम्पसमा भर्ना भइन्। 'होटेल म्यानेजमेन्ट' विषयलाई अध्ययनरत रहेकै बेला ११ कक्षामा उनलाई युट्युबमा अभिनय गर्ने अवसर जुर्यो। सुरुमा गरेको रिहर्सल सम्झिदै उनले बिएल नेपाली सेवासँग भनिन्, 'धेरै खुसी अनि केही नर्भस थिए। त्यसैले कहिँ नहेरी क्यामेरामा मात्र ध्यान दिएर बोल्न थाले। मैले गरेको अभिनय देखेर निर्देशकले पनि प्रशंसा गर्नु भएको थियो।' 

उनले गरेको एक्टिङले सबैलाई प्रभावित पार्यो। तर अभिनय क्षेत्रमा प्रवेश गरेपछि त्यहाँभित्र हुने विभेदलाई उनले नजिकबाट देखिन्। 'आफ्नो मान्छे भयो भने अभिनय गर्न नआउनेलाई पनि राख्ने गर्छन तर बाहिरी मान्छे, जो राम्रो अभिनय गर्छन उनीहरुको वेवास्था हुन्छ' उनले भनिन्, 'त्यो भेदभाव हट्यो भने कला क्षेत्र सबैका लागि सर्वशुलभ हुनेथियो।' 

फिल्म क्षेत्रमा आफ्नो मान्छे र बिरानो मान्छे नभनी अभिनयलाई हेरेर राख्नुपर्ने उनको भनाई छ। कक्षा १२ को अध्ययनका क्रममा उनलाई 'म्युजिक भिडियो' को अवसरको ओइरो नै लाग्यो। तर पढाईलाई ध्यानमा राख्दै उनले ४ वटा भिडियोमा मात्र काम गरिन्। 

उनलाई कलाकारिताबाट पैसा कमाउनुभन्दा चर्चा कमाउनुमा बढी चासो थियो। बच्चा बेलाको सपनालाई पूरा गर्न २०७४ सालमा भारत जानसमेत पछि हटिनन्। उनको मामा घर पनि भारतमै थियो। अडिशन दिन दिल्ली पुगेकी उनी निराश भएर घर फर्किइन्। 

'६ महिना अभिनयको तालिम लिनैपर्छ, नभए असम्भव छ' भारतीय जजले आफूसँग भनेका कुरा सुनाउँदै उनले भनिन्, 'नेपालीले अभिनय गर्न सक्दैन भनेर उनीहरुले होच्चाएको जस्तो लाग्यो।' 

कोलकाताबाट फर्किएपछि उनले स्वाभलम्बी बन्न घर छेउमा पार्लर खोलिन्। उनले ब्युटिसियन सम्बन्धि कोर्ष पहिले नै गरिसकेकी थिइन्। त्यसैले उनलाई पार्लर खोल्न खासै समस्या भएन। हाल उनी पार्लरबाटै आफ्नो खर्च जुटाउँदै आइरहेकी छिन्। 

काम गरेर आत्मनिर्भर भएपनि उनको मनमा शान्ति छैन। उनलाई सफल कलाकार बन्ने सपनाले गिजलेको छ। 'मेरो सपना अझै पूरा हुन सकेको छैन्' उनी भन्छिन्, 'ढिलो चाडो साकार गर्नुछ।' 

सानोमा बुवाले कलाकार बन्न सहयोग गर्ने वचनवद्धता दिएपनि ठूलो भएपछि परिवारले सहयोग गरेन। उनको घरप्रति पनि गुनासो छ–‘मलाई घर परिवारले सपोर्ट गरेको भए आज संसारले चिन्ने थिए होला। केटी मान्छेले फिल्म खेल्नु हुँदैन। समाजले के सोच्छन् भन्दै हप्काउनु हुन्छ। उहाँहरुलाई मेरो होइन समाजको मात्रै चिन्ता छ।' 

छोरी मान्छेले केहि गर्नुहुदैन् भन्ने सोचबाट समाज मुक्त भए मात्र स्वतन्त्रता पाउने उनको भनाइ छ। आफूले यसअघि गरेको अभिनयमा पनि परिवारको साथ नभएको उनको भनाई छ। 'गाली खाएर गरेकी छु' उनले भनिन्। चलचित्र क्षेत्रबाट टाढिन चेतावनी खेपेकी उनले स्नान्तक तहको पढाई भने पत्रकारिता विषयमा गर्दैछिन्। 

भन्छिन्, 'मेरा बाबाआमाले मलाई कलाकार बनेर चर्चित हुनबाट रोक्नु भएपनि मिडियाबाट चिनिने आशमा यो विषय लिएर पढ़की हुँ।' हाल उनी दोश्रो वर्षमा अध्ययनरत छिन्। 

केहि महिनाअघि उनले नेपाली हास्य सिरियल 'सक्किगोनी' मा अभिनय गरेकी थिइन््। उनलाई त्यसमा अभिनय गर्ने अवसर भने पाडे अर्थात् अर्जुन घिमिरेले दिलाएका थिए। 

ठूला कलाकारसँग एउटै सिरियलमा देखिन् पाउँदा उनी गदगद थिइन््। तर त्यसैमा आमाबाबुको असहमति र गालीगलौजका कारण बीचैमा सिरियल छाडिन्। 

 एउटा एपिसोड गर्ने सौभाग्य मात्र उनलाई मिल्यो। २१ वर्ष पुगिसकेकी अस्मिनाको अहिले पनि मात्र एउटा चाहना छ। त्यो हो फेमस हुने।
 

प्रकाशित मिति: : 2021-01-11 14:55:00

प्रतिकृया दिनुहोस्