छात्रवृति सम्बन्धि कार्यविधि नबनाउदा रकम फ्रिज

प्रदेश २ सामाजिक विकास मन्त्रालयले छात्रवृति सम्बन्धि कार्यविधि नबनाउदा रकम फ्रिज हुँदै गएको छ । 

प्रदेश सरकारको आव ०७६/७७ को बजेट वक्तव्यमा  सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत विपन्न, दलित र मुस्लिम छात्राहरूका लागि मासिक पाँच सयका दरले छात्रवृत्ति दिइने उल्लेख थियो । 

तर स्पष्ट कार्यविधि नबन्दा चालू आर्थिक वर्ष ०७७÷७८ मा पनि करोडौँ रकम फ्रिज हुने भएको छ ।

संघीय सरकारको विशेष अनुदान सहायताबाट सञ्चालन हुने यो कार्यक्रमका लागि ४८ करोड रुपैयाँ विनियोजन गरिएको थियो । 

तर, निर्देशिका नै नबन्दा कार्यक्रम कार्यान्वयनमा आएको छैन ।

 गत आर्थिक वर्षमा उच्च शिक्षा अध्ययनरत दलित, मुस्लिम र छात्राका लागि दुई करोड रुपैयाँ विनियोजन गरिएपनि सबै रकम फ्रिज भएर गयो । 

सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालयले चालू आवमा उच्च शिक्षा अध्ययनरत अति विपन्न, दलित, मुस्लिम र जेहेनदार विद्यार्थीका लागि विनियोजित एक करोड रुपैयाँ पनि फ्रिज हुने भएको छ ।

 गत आवमा पनि सोही शीर्षकको एक करोड रुपैयाँ कार्यविधि अभावकै कारण फ्रिज भएको थियो ।

प्रकाशित मिति: : 2021-01-12 15:18:00

प्रतिकृया दिनुहोस्