कुलमान हुँदाभन्दा म आएपछि कम लाइन काटिन थालेको हाे– मन्त्री रायमाझी

कमल प्रभात

काठमाडाै‌ं

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले आफू मन्त्रालयमा आएपछि लाइन कम काटिन थालेको दाबी गरेका छन्। 

बुधबार एक कार्यक्रममा उनले कुलमान घिसिङ विद्युत प्राधिकरणमा हुँदा पटक–पटक काटिने लाइन आफू मन्त्रालयमा आएपछि कम काटिन थालेका बताएका हुन्। 

‘मैले गतवर्ष र यस वर्षमा कुन महिनामा कति पटक लाइन काटियो भन्ने विवरण तयार पारेका छु,’ उनले भने,‘विद्युत प्रधिकरणको रेकर्ड अनुसार कुलमान हुँदा भन्दा उहाँ गएपछि कम लाइन काटिन थालेको छ।’

उनले प्रस्तुत गरेको विवरण अनुसार गत वर्ष साउनमा १४२६ पटक लाइन काटिएको थियो। यो वर्ष १५३९ पटक लाइन काटिएको छ।

त्यस्तै गतवर्ष भदौमा र यो भदौमा १३८६ पटक लाइन काटिएको छ। गतवर्ष असोजमा ८३१ पटक लाइन काटिएको छ, भने यो वर्ष ८३४ पटक काटिएको छ।

त्यस्तै गत कार्तिकमा ४७६ पटक लाइन काटिएको छ, भने यो वर्ष ५३० पटक लाइन काटिएको छ। गत वर्ष मंसिरमा ५५७ पटक लाइन काटिएको छ। यस वर्ष ३४३ पटक लाइन काटिएको छ। 

उनले यहीँ विवरण आधारमा पछिल्लो पटक लाइन कम काटिन थालेको बताएका हुन्। 

‘अहिले बेला मौकामा लाइन जानुको कारण विद्युत प्राधिकरणमा पुराना संरचना हुनाले हो। जिर्ण संरचनाको समस्याले लाइन जाँदा मैले गाली खानु परेको छ। विद्युत उत्पादन कम भएर होइन, भौतिक संचरना तत्कालै निर्माण गर्न नसकिने भएकोले अहिले समस्या भएको हो,’ उनले भने। 

अहिले विग्रेका पुराना संरचनाको निर्माण गर्न मास्टर प्लान बनाउने तयारीमा रहेको उनले बताए।

प्रकाशित मिति: : 2021-01-13 17:25:00

प्रतिकृया दिनुहोस्