ओलीको अन्तर्वार्ता र अबको बाटो

नेपाल लाइभ

काठमाडौँ

पदम गौतम

दार्चुलाको आडैमा भारतले बनाएको धौलीगंगा बाँधको खतराका विषयमा तथ्यसहित बहस सुरु भएकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतका समाचार च्यानललाई दुई वटा अन्तर्वार्ता दिए। प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध सत्तारुढ दलकै एक पक्ष, प्रतिपक्षी र नागरिक समाजका नाममा आन्दोलन चलिरहेकै समयमा आएका यी अन्तर्वार्ताले देशविदेशमा रहेका धेरै नेपालीका ध्यान आकर्षित गर्‍यो।

प्रधानमन्त्री ओलीका हालै प्रसारित दुई वटै अन्तर्वार्ताका कारण देश अहिले तरंगित छ। हुन त केही सातादेखि प्रतिनिधि सभा विघटन गरेर र त्यसअघि लामो समय पार्टीको आन्तरिक खिचातानीका कारण राजनीतिक बहस र टिप्पणीको केन्द्रमा उनै ओली थिए। तर, यी अन्तर्वार्ताका कारण अब नेपालको राजनीति निकै पेचिलो र जटिल बन्ने दिशामा गएको प्रष्ट देखाउँछ। लाग्छ, निकै जटिल मुद्दामा हात हालेर ओलीले जोखिमको राजनीति शुरु गरेका छन्।

ओलीले दिएको अन्तर्वार्ताका शैली र प्रश्न हेर्दा वार्ता आयोजना नै अस्वाभाविक लाग्छ। केही महिनाअघि आफू र चिनियाँ राजदूतलाई जोडेर अत्यन्तै निकृष्ट आरोप लगाएर नेपाली युट्युब च्यानलको शैली पछ्याउने न्युज च्यानललाई नै प्रधानमन्त्रीले अन्तर्वार्ताका लागि छान्नुले पनि यो प्रकरण सतहमा देखिएको जस्तो सहज छैन। यसर्थ पनि ती अन्तर्वार्तालाई टिप्पणीकारले प्रायोजित भन्ने गरेका छन्। तैपनि, सतहमा हेर्दा अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले प्रष्ट शब्दमा नेपाली स्वाभिमानका पक्षमा कुरा गरेका छन्। र, त्यही अन्तर्वार्ताले मात्र पनि ओलीका विरोधीहरूको स्वर धेरै मत्थर भएको छ। 

प्रकाशित मिति: : 2021-01-13 17:43:00

प्रतिकृया दिनुहोस्