केयूमा योग्यता र अनुभवका आधारमा उपकुलपति नियुक्त गर्न माग डा. केसीकाे माग

बिएल संवाददाता

काठमाडाै‌ं

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालय (केयू)मा योग्यता र अनुभवका आधारमा उपकुलपति नियुक्त गर्न माग गरेका छन्। 

बिहीबार विज्ञप्ति जारी गरी केसीले केयूको उपकुलपतिमा सक्षम र नैतिकवान व्यक्तिको नियुक्ति प्रक्रिया निष्पक्ष र न्यायोचित हुनुपर्ने बताएका छन्।

केयूका उपकुपति डा. रामकण्ठ माकजुको कार्यकाल सकिन लागेको छ। उनी दुई कार्यकाल उपकुलपति भइसकेका छन्। अहिले उक्त केयूमा उपकुलपति नियुक्तिका लागि सर्च कमिटीले प्रक्रिया अघि बढाएको छ।  उपकुलपति नियुक्तिका लागि ३५ जना भन्दा धेरैले आवेदन दिएका छन् । 

‘विज्ञहरुबाट सबै उम्मेदवारको योग्यता र अनुभवदेखि भिजनसम्मको मुल्यांकन गरेर मात्रै नियुक्तिका लागि सिफारिस गर्न माग गर्दछु’ उनले भनेका छन्।

केसीले देशका आधाभन्दा बढी निजी मेडिकल कलेजहरू उक्त विश्वविद्यालय अन्तर्गत रहेकोमा ती मेडिकल कलेजका सञ्चालकहरूको स्वार्थ र इसारामा पदाधिकारीहरू चल्ने गरेको समेत बताएका छन्। 

‘कतिसम्म भने निजी कलेजहरुलाई नेपाल सरकार मन्त्रिपरिषद्ले एमबीबीएस कार्यक्रमका लागि तोकेकोभन्दा बढी शुल्क लिन दिने गरी अवैध निर्णयहरु समेत भएका छन्,’ केसीले भनेका छन् । 

उनले आफ्नो पछिल्लो सत्याग्रहमा भएका सम्झौतासमेत कार्यान्वयन हुने गरी तथा सक्षम र नैतिकवान व्यक्ति नियुक्त गर्न माग गरेका छन् ।

 

प्रकाशित मिति: : 2021-01-14 15:43:00

प्रतिकृया दिनुहोस्