सृष्टि सावित्राका पाँच गजल

गंगाजल बनेर आउँछु भन्थ्यो ढल भएर आयो !
सज्जनै ठमेल गएको छोरो पागल भएर आयो !

उसले  अचानक  यसरी  डढेलो  लगाएपछि ,
पानी  लिएर यो आँखा दमकल भएर आयो !

तिमीले  उनको घाउमा मलम लगाउछु भन्दा
किन  अचानक मेरो दिल घायल भएर आयो ?

सजिने  ठुलो धोको रहेछ  मेरी आमाको पनि
रत  कफन  आमाको  आँचल   भएर   आयो !

माफी दिएँ भन्नुभयो बलत्कारी तपाईंको के पर्छ?
के प्रमाण छ? त्यो  बलत्कारी असल भएर आयो !

           

२)
डाक्टरले ओखती दिए जस्तो दुखाइ सोधेर ,
राहदानीसमेत दिन्छन् अचेल पढाइ सोधेर,

मेरो बालाई मार्ने दुश्मन फेरि किन आयो ?
मुस्कुराउदै गयो कहाँ छन् दाजुभाइ  सोधेर ,

निर्णय आफैं लिनु पर्थ्यो सफल हुनको लागि ,
मैले  जानाजान भुल गरेछु तिमीलाई  सोधेर ,

आजसम्म भारी बोकेरै चलेको छ गुजारा ,
दुखी  नबनाउनुस्  भरियालाई  थकाइ  सोधेर ,

छोराछोरीलाई शहर रोजेर पढ्न नपठाउनुस्
छोरोले ठमेल रोजेको हो तपाईंले रोजाई सोधेर ,

३)

तिमी रंगमञ्चमा  हुनेछौं म चिहानमा  हुनेछु,
आज तिम्रो मुटुमा छु भोलि युद्ध मैदानमा हुनेछु,

छोरोले यस्तो भनेर गयो घर छोड्ने  बेलामा,
अब भेट हुँदैन आमा तिमी मर्दा मुगलानमा हुनेछु,

भुलेर पनि नखोज्नु मलाई खुशी हरुको भिँडमा,
जिन्दगी ठूलो पीडामा म झुटो मुस्कानमा हुनेछु,

परिचित मान्छेसमेत अपरिचित  बनेर  गयो
अब चोकको मुर्तिसँग चिनजानमा हुनेछु,

मरेपछि तारिफ गर्छ त्यही, हो मेरो समाज
तस्बिरमा माला लगाउँने छन् म सम्मानमा हुनेछु,

४)

चिठी बिर्सेर आएको एउटा खाम रहेछ ,
कसले लेख्यो बाहिर मेरो नाम रहेछ ,

खुशी ढुवानी भएसँगै दुःख आय भयो !
लाग्यो जिन्दगी पीडाहरुको गोदाम रहेछ,

आफन्तकै बोलीबाट मनमा चोट पुग्यो !
बरु दुश्मनको बोलीमा थोरै लगाम रहेछ ,

जसको लागि मेरो दिल पुरै फडानी भयो !
उसैको मनसम्म पुग्ने  बाटो  जाम  रहेछ ,

बलत्कारीलाई अदालतले घर पठाई सक्यो !
बैहिनीको  शरिरमा  अझै  निलडाम  रहेछ ,

५)

नत अनुहार देखियो नत प्राण भेटियो !
घर नपुग्दै आमाको  चिहान भेटियो !

यसर्थ पनि जिन्दगी- जिन्दगी लाग्दैन
नत कुनैदिन आफन्तको साथ भेटियो !

मृत्यु पर्खिरहेका छन् हरेक मान्छेहरु
कसले भन्छ अझम्बरी अमृत भेटियो !

बर्षौदेखि मेरा गजल भौतारीदै थिए
खुशी हुन पाए आज महफिल भेटियो !

उसले हराएक‍ो बा, खोजिरहेको बेला,
किनामा एउटा बेवारिसे लास भेटियो !
 

प्रकाशित मिति: : 2021-01-16 11:23:00

प्रतिकृया दिनुहोस्