होमियोपेथिकमा बिरामीको आकर्षण

सांकेतिक तस्बिर

ऐलोपेथिक उपचारबाट हैरान भएका मानिस होमियोपेथिकतर्फ आकर्षित भइरहेका छन् । 

 दीर्घ किसिमका रोगले ग्रस्त भएका मानिस होमियोपेथिक उपचारबाट निको भएर सामान्य जीवन बिताइरहेको कुरा सुनेर खुशी लागेको होमियो चिकित्सक डा आविद हुसेनले बताए ।

 उनी लामो समयदेखि विराटनगरस्थित ज्योति होमियो क्लिनिकमा सेवा प्रदान गर्दै आएका छन्। 
    
ऐलोपेथिक उपचारबाट निराश भएका मानिस आउने गरेका उनले बताए । त्यति बेलासम्ममा रोगले मानिसलाई पूर्णरुपमा च्यापिसकेको हुनाले उपचारमा ढिलाइ हुने डा आविदको भनाइ छ । 

उपचारबाट सन्तुष्ट हुने मानिसले आफ्ना छरछिमेकमा कुरा गर्दा यसको प्रचारप्रसार बढी हुने गरेको र उपचार गराउन आउने मानिसकै सङ्ख्या पनि बढ्न थालेको उनको अनुभव छ ।
    
खासगरी, जाँड, रक्सी, चुरोट, खैनी नखाने मानिसलाई यो औषधिले छिट्टै काम गर्ने उनले बताए ।

 दम, ग्यास्ट्रिक, पित्तथैली तथा मिर्गौलामा हुने पत्थरी, टाउको दुख्ने, शरीरमा मुसो निस्कने, सेतो दाग निस्कने, महिलाको आन्तरिक रोग जस्ता धेरै रोगको उपचार यो पद्दतिबाट हुने गरेको चिकित्सक बताउँछन् ।
    
विराटनगर महानगरपालिका– २ मा होमियोपेथिक उपचार गरिरहनुभएको डा नरहरि थपलियाले होमियापेथिकबाट सबै किसिमका पुराना रोगको उपचार हुने जानकारी गराए । 'म कहाँ खासगरी पुराना रोगमा पेट सम्बन्धिका बिरामी, मानसिक रोग, चर्म रोग भएका आउने गरेका छन्', उनले भने । 
    
होमियोपेथिक उपचार गराउने  बिरामीहरुले आफ्नो रोगअनुसार नियमित तीन देखि चार महिनासम्म औषधि खानुपर्ने उनी  बताउँछन् । 

होमियोपेथिक उपचार गराउन बिरामी धनकुटा, तेह्रथुम, झापा, सुनसरीबाट समेत आउने गरेका डा थपलियाले जानकारी गराए । रासस 

प्रकाशित मिति: : 2021-01-17 16:41:00

प्रतिकृया दिनुहोस्