मेसीबिनै बार्सिलोना पुग्‍याे प्रि क्वाटरफाइनल

बार्सिलोनाले स्पेनिस कोपा डेल रेको अन्तिम ३२ को खेलमा तेस्रो श्रेणीको टोली युई कोर्नेलामाथि २–० को जित निकालेको छ।

कोर्नेलाको मैदानमा बिहीबार राति भएको खेलमा बार्सिलोनाले अतिरिक्त समयमा जित निकालेको हो। बार्सिलोनाको जितमा औसमाने डेम्वेले र मार्टिन ब्रेथवेटले गोल गरे। 

३९औं मिनेटमा मिरालेम प्यानिचले पेनाल्टी चुकाएको थियो।

अल्वर्ट इस्टिललेसले पेनाल्टी बक्समा रोनाल्ड एराउजोमाथि फल गरेपछि प्राप्त पेनाल्टीमा प्यानिचको पेनाल्टी प्रहार कोर्नेलाका गोलरक्षक रमोन जुआनले बचाएका थिए।

८०औं मिनेटमा गोलरक्षक रमोन जुआनले अर्काे पेनाल्टी बचाउदै खेललाई अतिरिक्त समयमा लम्ब्याए। मोरेनोले क्लेमेन्ट लेङ्लेटमाथि फल गरेपछि प्राप्त पेनाल्टीमा औसमाने डेम्वेलेको प्रहार गरेका थिए।

९२औं मिनेटमा पेड्रीको पासमा औसमाने डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई १–० ले अघि बढाए। ११८औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटियो। रोनाल्ड एराउजोमाथि फल गरेपछि अल्वर्ट इस्टिललेस दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए।

अन्तिम समयमा पेड्रीको पासमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाउदै प्रि क्वाटरफाइनलमा पुर्‍याए।

प्रतिबन्धका कारण कप्तान लि‌‌ओनल मेसी भने टोली बाहिर थिए।
 

प्रकाशित मिति: : 2021-01-22 07:35:00

प्रतिकृया दिनुहोस्