सूर्य चिन्हप्रति ओलीलाई कुनै माया छैन, हामीलाई छ: माधव नेपाल

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड) अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह आफ्नो भएको दावी गरेका छन्। 

प्रतिनिधि सभा विघटनविरूद्ध आज काठमाडौंमा आयोजित प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै उनले २०४८ सालको निर्वाचनमा तत्कालीन नेकपा–एमालेले सूर्य चिन्ह प्राप्त गर्ने जिम्मेवारी आफूलाई दिएको दाबी गरेका हुन्। 

‘त्यतिबेला निर्वाचन आयोगसँग प्रक्रिया पुर्‍याएर सूर्य चिन्ह प्राप्त गर्ने पार्टी जिम्मेवारीको नेतृत्व गर्ने व्यक्ति म यहाँ अहिले जिउँदै छु,’उनले भने, ‘त्यसप्रति केपी ओलीलाई कुनै माया छैन, हामीलाई छ।’

नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सिद्धान्तनिष्ठ मान्छे नभएको समेत आरोप लगाए।

‘ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको, संसदलाई अवमूल्यन गरेको, आफ्नै संसदीय दललाई अवमूल्यन गरेको र संविधानलाई पनि मिचेका छन्,’ उनले भने। 

नेपालले ओलीको कमद गैरसंवैधानिक मात्र नभई संवैधानिक ‘कू’ गरेको बताए। 

 ‘ओलीको कदम गैरसंवैधानिकमात्र होइन संवैधानिक ‘कू’ हो। जननिर्वाचित व्यक्तिले पनि संवैधानिक ‘कू’ गर्दा रहेछन्। हामीले त पहिले राजामहाराजाले मात्र ‘कू’ गर्छन् भन्ने सुनेका थियौं÷देखेका थियौँ,’ उनले भने।  

 नेता नेपालले अब पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म देशभर आन्दोलनरत् नेकपाको पक्षमा जनसमर्थन उर्लेको दाबी गरे।

‘जनता देशभर हामीसँग गोलबन्द भइसके, ओलीसँग अब अरिंगालको गोलो र साइबर सेनामात्र बाँकी छन्,’ उनले भने।

ओलीले पार्टीको विधानभन्दा माथि आफूलाई ठानेर काम गर्दा उनलाई खबरदारी गर्न सडकमा आउनु पर्ने उनले बताए।

प्रकाशित मिति: : 2021-01-22 15:42:00

प्रतिकृया दिनुहोस्