नागरिक एपमा सरकारका करीब १०० सेवा राखिने, बनाइ नसक्दै सार्वजनिक गर्ने हतारो

हिमाल खबर

काठमाडौँ

राजु बास्कोटा 

सरकारले २ माघ २०७७ बाट परीक्षण संस्करणको रूपमा शुरु गरेको नागरिक एपमा नौ वटा सेवा समावेश छन्। यो एपबाट १०० भन्दा बढी सेवा दिने सरकारको तयारी छ। तर, निर्माण नसक्दै सार्वजनिक गर्ने हतारोले शुरुमै समस्या त आएको छ नै, अहिले राखिएका नौ वटा सेवासमेत चालु छैनन्।

नागरिक एपमा स्थायी लेखा नम्बर (प्यान), शैक्षिक विवरण, नागरिक लगानी कोष, संचय कोष, सामाजिक सुरक्षा कोष, नागरिकता, राहदानी, मदताता परिचयपत्रको विवरण हेर्न र हेलो सरकारमा गुनासो गर्ने प्रणाली छन्। तर, प्यान लिने र हेलो सरकारमा गुनासो गर्ने सेवा मात्र चालु छन्। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्त सरकारी सेवालाई डिजिटल बनाउन एप ल्याइएको बताउँछन्। प्रविधिको माध्यमबाट सरकारी सेवालाई एकीकृत रूपमा सञ्चालन गरिने उनको भनाइ छ। दत्त भन्छन्, “यो एप हाल बेटा भर्सनमा तीन महीनासम्म परीक्षण गर्ने गरी आएको हो। त्यसपछि एपमा देखिएका कमिकमजोरी सुधार गरेर औपचारिक रूपमा नागरिक एपको पूर्ण भर्सन शुरु हुन्छ।” 

एप बनाउन दुई वर्षदेखि सूचना संकलन तथा तथ्यांक अद्यावधिक गरिएको थियो। तर, पूर्ण रुपमा तयार भएर सेवा दिन अरु दुई वर्ष लाग्ने सञ्चार मन्त्रालयको अनुमान छ। सहसचिव दत्त भन्छन्, “अब यसमा मालपोत सेवा, सवारी चालक अनुमति पत्र, सरकारी कर, ब्यांकिङ तथा वित्तीय संस्थाको सेवासहितका सयभन्दा बढी सेवा राखिने छ। अबको दुई वर्षभित्रै सबैजसो सरकारी सेवा लिन सक्ने गरी एप विकास हुनेछ।” सेवाग्राहीलाई शिक्षा, स्वास्थ्य, पर्यटन, ऊर्जा, अर्थ, डिजिटल फाउन्डेसन, शहरी पूर्वाधार र कृषिसँग सम्बन्धित सेवा एपबाटै दिने योजना रहेको मन्त्रालयको भनाइ छ। 
 

प्रकाशित मिति: : 2021-01-23 08:21:00

प्रतिकृया दिनुहोस्