कोरोना कहरमा पनि विकास निर्माण रोकिएन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको लहर चलेको बताएका छन्। 

दाङको राप्ती गाउँपालिका–७ सिसनिया र गढवा गाउँपालिका–२ महदेवा जोड्ने राप्ती नदीको पुल उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै ओलीले लकडाउनबीच पनि विकास निर्माण नरोकिएको दाबी गरे।

उनले भने,‘देश विकासको लहर चलिरहेको छ। कोभिड–१९ पनि हामीले विकास निर्माणका कामबाट रोक्न सकेनाैं। केही प्रतिकुलता थप्यो। जसको दृटान्त यो पुल पनि हो। अन्य कुरा भने अर्को सभामा गरौँला।’  

उनले तटबन्धहरु निर्माण भएर राप्ती नदीको पानीले कृषि क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्नेसमेत उल्लेख गरे। 

‘लुम्बेनी प्रदेश राजधानीसँग जोड्न पुलको ठूलो भूमिका हुनेछ। यसले यहाँको विकासमा समेत मद्धत पुर्‍याउनेछ। राजधानीको सुरक्षा हुनेछ। नदीमा तटबन्धहरु निर्माण भएर राप्ती नदीको पानीले कृषि क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने मैले आशा गरेको छु,’ प्रधानमन्त्री ओलीले भने। 

यस्तै उनले भारतबाट सहयोग प्राप्त खोप पहिलो चरणमा माघ १४ देखि १८ गतेसम्म लगाइने जानकारी दिए। 

खोपको पहिलो प्राथमिकतामा चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्सका चालक हुने उनको भनाइ थियो।  

चार वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिलान्यास गरेको राप्ती नदीको पुल उद्घाटन ओलीले गरेका हुन्।

यो पुल नेपालकै दोस्रो लामो पुल हो। यसको लम्बाइ ८६० मिटर रहेको छ। चौडाइ साढे १० मिटर रहेको छ। १ अर्बको लगानीमा पुल बनेको हो।  

चार वर्षको निर्माण सम्झौता भएको पुलको निर्माण कार्य चार महिना अघि नै सम्पन्न भएको हो।  यो पुलले राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेव जोड्छ।

प्रकाशित मिति: : 2021-01-25 13:26:00

प्रतिकृया दिनुहोस्