विकासको हल्लाले काठमाडौंका यी क्षेत्रमा महंगियो जग्गा 

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रका विकासको संभावनाको हल्लाले जग्गाको भाउ अस्वाभाविक रुपमा बढेको छ। रेल आउने हल्लाले टोखा क्षेत्रको भाउ बढेको छ भने फास्टट्र्याकका कारण टौदह क्षेत्रको भाउ आकासिएको छ। नागढुंगा–नौबिसे सुरुङमार्गको हल्लाले त्यस क्षेत्रको जग्गा पनि महंगो भएको हो।

नागढुंगा–नौबीसे सुरुङमार्ग 

नागढुंगा–नौबिसे सुरुङमार्गको हल्ला चल्न सुरु भएदेखि नै सो क्षेत्रमा जग्गाको भाउ बढ्न थालेको थियो। अहिले सुरूङ उद्घाटन भएर खन्ने काम थालिएपछि त्यसवरपर जग्गाको भाउ छोइनसक्नु गरी बढेको छ।  

सुरूङको धादिङतर्फको भेगमा रोपनीको १० लाख रुपैयाँमा पनि नबिक्ने जग्गाको अहिले आनाको १५ लाख पुगेको छ। सुरुङको काठमाडौँ पट्टि थानकोटको जग्गाको भाउ आनाकै २२-२५ लाख रुपैयाँ पर्ने भएको छ। 

घर–जग्गा व्यवसायी सुरेन्द्रकुमार कार्कीका अनुसार, कलंकीबाट १० किलोमिटरटाढाबाट सुरु हुने सुरुङमार्ग छेउछाउमा जग्गा किन्न जानेहरुको संख्या बढेको छ। उनी तीन वर्षअघिसम्म ५-६ लाख रुपैयाँ प्रतिआनामा पाइने जग्गा अहिले १८ लाख रुपैयाँ पुगेको बताउँछन्। 

घरजग्गा कारोबारीहरुले सुरुङमार्ग बनिसकेपछि १५ मिनेटमै धादिङबाट काठमाडौंको कलंकी पुग्न सकिन्छ भनेर जग्गाको मूल्य बढाइरहेका छन्। पाखो भित्तो ताछेर प्लटिङ गर्न पनि थालिसकेका छन्। 

टोखा–छहरे सुरुङमार्ग

टोखा–छहरे सुरुङमार्ग बन्ने चर्चा चल्नासाथ टोखाको झोर–महांकाल क्षेत्रमा जग्गाको भाउ अस्वभाविक रुपमा बढेको छ। सुरुङमार्गसँगै चीनबाट रेल पनि त्यहीँ आउने बताइएको छ। त्यो हल्लाले जग्गाको भाउ तेब्बरसम्म बढेको छ। 

टोखाउत्तरको झोर–महांकाल क्षेत्रमा एक आना जग्गा किन्न १५ लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ जबकि पाँच वर्षअघिसम्म सो क्षेत्रमा जग्गाको भाउ आनामा हिसाब नगरी रोपनीको भाउ हुन्थ्यो। 

जबकि डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा महिनाको एक दिन जनताको घरमा गएर बास बस्ने अभियान झोर–महांकालबाटै सुरु गरेका थिए। त्यस बेला काठमाडौंकै दूर्गम मानिन्थ्यो– झोर महांकाल। अहिले झोर–महांकालको भित्री गल्लीमा पनि आनाको १५ लाख पुगिसक्यो।

काठमाडौँ–तराई फास्ट–ट्र्याक

काठमाडौँलाई तराईसँग साढे ७२ किलोमीटरमै जोड्ने सीधा बाटोले जोड्ने काठमाडौँ–निजगढ फास्ट–ट्र्याक निर्माणको काम नेपाली सेनाले धमाधम गर्दैछ। यो लगभग आधा पूरा हुन लागेको छ। योसँगै आसपासको जग्गाको भाउ भने उकालो लागेको छ। 

यसको क्षेत्रमा पर्ने ललितपुरको खोकनादेखि निजगढसम्म जग्गा महंगो भएको छ। जग्गाको भाउ ५ गुणासम्मले बढेको हो। आजभन्दा पाँच वर्षअघिसम्म करिब पाँच लाख रुपैयाँ प्रतिआनामा खोकोनादेखि टौदह क्षेत्रको जग्गा अहिले प्रतिआना २० लाख नाघेको छ। ललितपुरका बुङमति, सैंबु, डुकुछाप, खोकना क्षेत्रदेखि निजगढसम्म नै जग्गा भाउ आकासिएको व्यवसायीहरु बताउँछन्।

प्रकाशित मिति: : 2021-01-27 18:00:00

प्रतिकृया दिनुहोस्