प्रदेशमा कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे कांग्रेस अझै अनिर्णित

नेपाल लाइभ

काठमाडाै‌ं

काठमाडौं– प्रदेश सरकारमा कुन पक्षलाई समर्थन गर्ने भन्ने विषयमा कांग्रेसभित्र मतैक्य हुन सकेको छैन। नेकपाका दुई समूहले एउटा प्रदेशमा मुख्यमन्त्री कांग्रेसलाई दिने संकेत दिएपनि सहकार्य कुन पक्षसँग गर्ने भन्नेबारे कांग्रेसले निर्णय लिन सकेको छैन।

प्रदेश १ र बागमतीमा नेकपाको पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।

दुवै प्रदेशका सन्दर्भमा पार्टीले लिने निर्णयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले दुई दिन बैठक बोलाएपनि निष्कर्ष निस्किएको छैन। प्रदेश १ र बागमतीका केन्द्रीय सदस्यसहित शीर्ष तहका नेताको बैठक बसेको थियो। दुवै दिनको बैठकमा प्रधानमन्त्री ओली पक्षलाई प्रदेश सरकारमा सहयोग गर्दा आत्मघाती हुने मत बलियो थियो। 

बागमती प्रदेशमा दर्ता भएको अविश्वास प्रस्तावको सन्दर्भमा छलफल गर्न माघ ९ मा देउवाले बैठक बोलाएका थिए।

प्रदेशको सत्ता समिकरणमा ओली पक्षसँग गठबन्धन गर्दा कांग्रेससँग आगामी निर्वाचनमा मुद्दा सकिने नेताहरुको तर्क छ। सभापति देउवा बागमती प्रदेशमा मुख्यमन्त्री लिएर प्रदेश १ मा ओली पक्षलाई सहयोग गर्ने पक्षमा देखिएका छन्। बागमती प्रदेशमा देउवाले मुख्यमन्त्री पद चाहनुको भित्री अन्तर्य उनी पक्षीय प्रदेश सांसद इन्द्र बानियाँ अघि सार्ने अवसर पनि हो। बागमती प्रदेश सभामा बानियाँ संसदीय दलका नेतासमेत हुन्।

प्रकाशित मिति: : 2021-01-29 09:02:00

प्रतिकृया दिनुहोस्