कोरोनाको पाठ : महामारी र विपत‍्सँग जुघ्न पूर्व तयारी चाहिन्छ !

रातोपाटी

काठमाडाै‌ं

माया श्रेष्ठ 

कोरोना भाइरस कोभिड–१९ को महामारीको सुरुवाती चरणमा धेरै अस्पतालका चिकित्सक अग्रपङ्क्तिमा बसेर सङ्क्रमितको उपचार गर्न तयार थिएनन् । ‘हतियारबिना युद्ध लड्न सकिँदैन, तयारीबिना युद्ध मैदानमा सरिक हुँदा हार्नुको विकल्प छैन,’ ०७६ साल पुसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा नेपालमा कोरोना सङ्क्रमण फैलिए के गर्ने, तयारी कस्तो गर्ने भन्नेबारे छलफल चल्दा कतिपय चिकित्सकले यस्तै खालका धारणा व्यक्त गर्ने गरेका थिए ।

 नेपालमा प्राकृतिक विपत‍् तथा कुनै रोगको महामारी आए कसरी विपत‍् व्यवस्थापन गर्ने भनेर पाटन अस्पतालबाहेक त्यसबेला अन्य कुनै अस्पतालले खासै तयारी नगरेको पाटन अस्पतालका विपत‍् व्यवस्थापन समितिका संयोजक तथा अस्पताल दुर्घटना नेतृत्व प्रणालीका आन्तरिक प्रचारक प्रोफेसर डा. आशीष श्रेष्ठ दावी गर्छन् ।

कुनै पनि प्रकृतिक विपत‍् तथा महामारी बाजा बजाएर आउँदैन भन्ने भनाइलाई आत्मसाथ गर्दैै पाटन अस्पतालले आपतकालीन अवस्थासँग जुध्न २०६९ सालदेखि तयारी गर्दै आएको थियो । त्यसैले ०७६ पुसमा स्वास्थ्य मन्त्रालयमा बसेको बैठकमा पाटन अस्पतालले विपत‍् व्यवस्थापनसम्बन्धी योजना पेस गर्न सकेको उनले सुनाए । 

नेपालमा कोरोना महामारी फैलन सुरु भएपछि कोरोना उपचार, पहिचान र नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीका लागि सुरक्षात्मक सामाग्री पीपीई कसरी जोहो गर्ने, कोरोना संक्रमितको उपचार गर्ने कि नगर्ने भनेर अस्पतालहरु दोधारमा थिए । तर, पाटन अस्पतालले विपत‍् व्यवस्थापनको पूर्वतयारी गरेकाले सङ्क्रमितको उपचार, पहिचान तथा नियन्त्रणमा सुरुवाती समयबाट निरन्तर लागि परेकाले अन्य अस्पतालको तुलनामा अब्बल सावित भएको डा. श्रेष्ठको जिकिर छ ।

प्रकाशित मिति: : 2021-01-29 14:06:00

प्रतिकृया दिनुहोस्