दुई रातो कार्डपछि मैदानमा पोखिएको आर्सनलको दुःख 

तस्वीर: एजेन्सी
तस्वीर: एजेन्सी

यो सिजन इंग्लिस प्रिमियर लिगमा औसत प्रदर्शन गरिरहेको आर्सनलले गत राती भएको खेलमा घरेलु उल्फससँग २–१ को झिनो पराजय भोगेको छ।

पहिलो हाफको सुरुवातमा अग्रता लिएको आर्सनल दुर्भाग्यपूर्ण ढंगले पराजित भयो। पहिलो हाफको अतिरिक्त समयमा डेभिड लुइजलाई रातो कार्ड पाएर गुमाउनु तथा ७२ मिनेटमा गोलकिपर बेनार्ड लेनो पनि रातो कार्ड पाएर बाहिरिनु गनर्सका लागि दुर्भाग्यपूर्ण बन्यो।

डिफेन्डर लुइजले ४५ मिनेटपछि थप गरिएको तेस्रो मिनेटमा डिबक्सभित्र विलियान जोसलाई लडाएपछि उल्फसले पेनाल्टी अवसर पाएको थियो। जसलाई रुबिन नाभासले गोलमा परिणत गर्दै खेललाई बराबरीमा ल्याए। आर्सनलले निकोलास पेपेको उत्कृष्ट गोलमा ३२ मिनेटमै अग्रता लिएको थियो। तर, त्यो अग्रता लामो समय टिकेन।

दोस्रो हाफपछि १० खेलाडीमा सिमित रहेको आर्सनलविरूद्ध ४९ मिनेटमै जाओ माउटिन्होले गोल गरे। आर्सनल सम्हालिन नपाउँदै ३० यार्डबाट गरेको प्रहार गोलमा परिणत भयो। एड्मा ट्राउरेलाई रोक्न डिबक्स बाहिर निस्किएर बललाई छुएपछि ७२ मिनेटमा गोलकिपर लेनो मैदानबाट बाहिरिन विवश भए।

गत डिसेम्बर १५ मा चेल्सीलाई हराएको उल्फस त्यसपछि विजयी भएको हो। उल्फस अंक तालिकाको १४ स्थानमा यथावत छ भने आर्सनल पनि ३१ अंक जोडेर दशौं स्थानमा रहेको छ।

प्रिमियर लिगको अन्य खेलमा न्युक्यासल युनाइटेड आफ्नै घरेलु मैदानमा १–२ गोलले क्रिस्टल प्यालेससँग पराजित भयो। पुछारमा रहेको सेफिल्ड युनाइटेडले भने आफ्नो घरमा वेस्ट ब्रुमलाई २–१ ले पराजित गर्यो। सेफिल्ड ११ अंक सहित सबैभन्दा पुछारमा छ। ब्रुम १२ अंक बटुलेर पुछारबाट दोस्रो स्थानमा छ। न्युक्यासल २२ अंक जोडेर १६ स्थानमा झरेको छ। प्यालेस २९ अंकसहित १३ स्थानमा यथावत छ।

प्रकाशित मिति: : 2021-02-03 09:35:00

प्रतिकृया दिनुहोस्