रमितामय पथरीशनिश्चरेको सेल्फी रोड [ फोटो फिचर ]

तेजन खड्का

उर्लाबारी

सामाजिक सञ्जाल र टिकटकका कारण मोरङको पथरीशनिश्चरे–२ स्थित सेल्फी रोड लकडाउनयता निकै चर्चामा छ। एक नासे बिरुवा  र खुला जङ्गलका कारण पूर्व–पश्चिम राजमार्ग जोडिने सेल्फी रोड यतिबेला चर्चामा आएको हो।

यतिबेला तपाई त्यहाँ पुग्नुभयो भने टिकटक बनाउनेदेखि सेल्फी खिच्नेसम्मको ओइरो नै देख्नपाउनु हुन्छ। रोड केन्द्रीय सरकारको सांसद कोषबाट कालोपत्रे पारिएको हो।

चौतारी सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको साल जातका वृक्षले सितलता प्रदान गर्ने भएकाले यहाँ आउने जो कोहीको मन जित्न सफल हुन्छ। लकडाउनको समयमा गुम्सिएर बस्न बाध्य सर्वसाधारण मनोरञ्जनका लागि टाढाका गन्तव्य स्थल धाउन नपाएपछि यही रोडमा रमाउन र सामाजिक सञ्जालमा छाउन थालेका छन्।

कोरोनाका कारण ४ महिनासम्म घरमा गुम्सिएका मानिसहरु लकडाउन हटेपछि मनोरञ्जनका लागि मन बहलाउन यहाँ आउन थालेका हुन्।

पूर्वयोजना बिना एकाएक स्वतस्फुर्त सेल्फी खिच्ने र टिकटक बनाउनेको जमात सामाजिक सञ्जालमा बढ्न थालेपछि समितिको ध्यान खिचिएको चौतारी सामुदायिक वनका पूर्वअध्यक्ष तथा सल्लाहकार रत्नबहादुर बस्नेतले बिएल नेपाली सेवालाई बताए।

पूर्व–पश्चिम राजमार्गको सुनझोडा पुल, पश्चिमबाट दक्षिणतर्फ लाग्ने १ हजार १ सय मिटर कालोपत्रे सडक, चौतारी वनले हुर्काएका एक नासका साल जातका रुखमा सेतो रंग पोतेर पटुकी कसेझैं देखिने मनमोहक दृश्यले यहाँ सबैको मन खिचेको हो। पूर्वका विभिन्न ठाउँबाट दैनिक हजारौ मानिस जम्मा हुन थालेपछि ब्यापारीको ठेला ब्यापार पनि फस्टाउन थालेको छ ।

पछिल्लो समय यो सडकको लागि नगरले समेत चासो लिएको छ। सामुदायिक वनले १ लाख रुपैंयाँ खर्चेर सिमेन्टका १० वटा आराम गर्ने चियर, तरुणदल नगर समिति पथरीशनिश्चरेबाट फोहोर ब्यवस्थापनका लागि १० वटा प्लाष्टिकका डष्टविन, भिड नियन्त्रणका लागि नो पार्किङ्ग बोर्डहरु उपलब्ध गराइएका छन् ।

यस्तै शौचालयका लागि प्रदेश सांसद शेखरचन्द्र थापाबाट ५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने बचनबद्धता मिलेको र विभिन्न क्षेत्रबाट सहयोगी हातहरुले चासो बढाइरहेको बस्नेतले बताए।

यस क्षेत्रमा आन्तरिक पर्यटकको ध्यान खिच्न आगामी दिनमा सेल्फी सडकमाथि डोरीको झोलुङ्गे पुल, सुनझोडा खोलामा झोलुङ्गे पुल, चौतारी सामुदायिक वनको हातामा वनवाटिका, रोटेपिङ्ग, लिङ्गेपिङ्ग, चाकाचुली, डुङ्गा सहितका माछा पोखरी लगायत निर्माण गर्ने लक्ष्य रहेको समाजसेवी दिलिप राईले बताए । सडकको स्तरोन्नतीका लागि वडाको पहलमा १ सय पचास वटा फूलका विरुवा रोपिइसकेको छ। यसका लागि डिपिआर तयार गरी आवश्यक कुरा थप्ने योजना रहेको वडा सदस्य पर्शुराम न्यौपानेले बताए।

कतिपय ठाउँमा पर्यटक तान्न ठूलै कसरत गर्दा पनि असफल भइरहेको अवस्थामा पथरीशनिश्चरेलाई चिट्ठा परेको हो।  

वडा सदस्य न्यौपाने भन्छन्– ‘एमजी रोडभन्दा कम छैन्, हाम्रो सेल्फी रोड।’ उनले सेल्फी रोडमा पनि धुलो नलाग्ने तर्क गरे ।

सेल्फी रोड साँच्ची कै सुन्दर भएको र फोटो पनि साँच्चै सुन्दर आउने बताउँछन् मोरङ उर्लाबारीका लक्ष्मीकुमार तामाङ। उनी भन्छन्– ‘यहाँको भिड देख्दा हामी मात्र होइन, पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्ने पनि के को भिड रहेछ भनेर गाडी सेल्फी रोड तिर मोड्छन्।’

सर्वसाधरण मात्र होइन, स्थानीय जनप्रतिनिधि,दलका नेता र कलाकार पनि फोटो खिच्न यहाँ पुग्ने गरेका छन् । स्थानीय ८२ वर्षीय वृद्ध माधवप्रसाद निरौला भन्छन् – ‘सधैं सुनसान हुने सडकमा फोटो खिच्नेको लस्कर देख्दा छक्क परेको छु।’

सडकमा सेल्फी खिच्नेको भिड बढेपछि पथरी बजारका कुल्फी,आइसक्रिम र चटपटे ब्यापारीहरू सेल्फी रोडतिर पसल थाप्न थालेका छन् । आइसक्रिम ब्यापारी अजित अधिकारी भन्छन्– ‘बजारमा भन्दा यता दोब्बर ब्यापार हुन्छ। बजारमा दैनिक १५ सयको बिक्री हुन्थ्यो। यता आएपछि चार हजारसम्मको बिक्री भइरहेको छ।’

कानेपोखरी– ६ बिहीबारेबाट चटपटे ब्यापार लिएर सेल्फी रोड पुगेकी सुनीता तामाङ भन्छिन्– ‘पथरी बजारमा मुस्किलले दुई सयको ब्यापार हुन्थ्यो। यता हरेक दिन पाँच सयको ब्यापार भइरहेको छ। पानी नपरेको दिन त आठ सयसम्म ब्यापार हुन्छ।’

अधिकारी र तामाङले ब्यापार सुरु गरेपछि अहिले सो क्षेत्रमा १५१६ ब्यापारीले पसल थापेका छन्।

पथरीको चौतारी सामुदायिक वन क्षेत्रभित्र पर्ने यो सडकमा फोटो र भिडियो खिच्नकै लागि भनेर दैनिक ४ देखि ५ हजारको संख्यामा मानिस आउने गरेको वनका अध्यक्ष मेघराज चापागाईंले बताए। ’यो सडक सामान्य हो, दक्षिण बोक्रे चोक जाने सडक हो,’चापागाईंले भने,’हाइवेसँगै जोडिएको सडक भएर होला मानिसहरु आउने, फोटो खिच्ने र भिडियो बनाउँदै हालेपछि प्रचार भएछ।’

पथरीका कलाकार प्रविन कोइरालाले पनि टिकटकमा भिडियो बनाउन यही स्थान रोजे । उनले यही सडकमा हालसम्म ६० भन्दा बढी टिकटकका भिडियो बनाइसकेका छन् । ’लकडाउनको बेला अन्यत्र जान टाढा हुने भएकाले यही सडकमा भिडियो बनाउन थालियो,’कोइरालाले भने,’जंगलको बीचमा कालोपत्रे सडक भएकाले शितल पनि हुने, ठाउँ पनि शान्त भएकाले धेरैले टिकटक भिडियो बनाएर हाल्न थाले। रोडको त्यतिकै प्रचार–प्रसार भयो। ’

यहाँ आएर सेल्फी खिच्ने भएकाले यो सडकको नाम स्थानीयले नै सेल्फी रोड राखिदिएको कोईरालाले बताए। यो सडकमा धेरै गीतहरुको छायांकन भइसकेको छ।

प्रकाशित मिति: : 2021-02-03 12:35:00

प्रतिकृया दिनुहोस्