चेपाङ उत्थान कार्यविधि निर्माण

केन्द्रबिन्दु

चितवनको इच्छाकामना गाउँपालिकाले सीमान्तकृत चेपाङ  समुदायको  उत्थानका लागि कार्यविधि निर्माण गरेको छ। सीमान्तकृत चेपाङ समुदायको आर्थिक सामाजिक विकास गर्न कार्यविधि  निर्माण गरिएको हो।  

गाउँपालिकाले तयार पारेको उक्त कार्यविधिको खाकामा चेपाङ समुदायका अगुवा, उक्त समुदायमा काम गरिरहेका विभिन्न सङ्घसंस्था र सरोकारवालासँग छलफल गरिरहेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताए। 

उनले भने, ‘अहिले चेपाङ अगुवा र सरोकारवालासँग  छलफल  गरिरहेका  छौँ, उनीहरुको सल्लाह सुझावलाई समेटेर कार्यविधिलाई पूर्णता  दिनेछौँ र कार्यविधि आगामी गाउँसभाबाट पारित गरिने छ।’    

उनका  अनुसार कार्यविधिमा चेपाङ समुदायलाई आत्मर्निभर बनाउन सीपमूलक, आयआर्जन, महिला सशक्तीकरण, कृषि तथा पशुपालनका माध्यमबाट रोजगारी सिर्जना, शिक्षातर्फ सबै बालबालिकालाई शिक्षा, हरेक वडामा उच्च शिक्षाको कक्षा सञ्चालनलगायत विषय समावेश गरिएको छ। 

आर्थिक अवस्थामा सुधार गर्दै चेपाङको मानसिक परिर्वतन गर्ने गरी कार्यविधि निर्माण गरिएको  छ। सपना भिलेज सोसियल इम्याक्टसँगको सहकार्यमा अहिले पनि  गाउँपालिकाले चेपाङ सुमदायको आमूलपरिवर्तनका लागि  वडा नं–१ मा परियोजना नै सञ्चालन गरिरहेको उनले बताए। 

नेपाल चेपाङ सङ्घ वाग्मती प्रदेश समितिका सचिव लक्ष्मण चेपाङले गाउँपालिकाले अघि सारेको उक्त योजनाले चेपाङ समुदायमा आमूलपरिवर्तन आउने विश्वास व्यक्त गरे। उनले वास्तविक चेपाङको पहिचान गरी रीतिरिवाज धर्म संस्कृति र संस्कारलाई समेत मध्यनजर गरी कार्यविधि बनाउन सुझाव दिएको बताए। नेपाल चेपाङ सङ्घका प्रतिनिधि र चेपाङ जनप्रतिनिधिलाई समेटेर  समिति  निर्माण गरी अघि बढ्नुपर्ने उनको  भनाइ छ। रासस

प्रकाशित मिति: : 2021-02-03 16:22:00

प्रतिकृया दिनुहोस्