उर्लाबारीबाट फरार प्रतिवादी पक्राउ

तेजन खड्का

उर्लाबारी

मोरङ प्रहरीले अपहरण, शरीर बन्धक तथा चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका–५ का ३४ वर्षीय सुशन लिम्बू रहेका छन्।

फरार रहेका सुशन अर्थात् राजेश्वरलाई मंगलबार राति ९ः३० बजे इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले पक्राउ गरेको हो।

अदालतले दोषी ठहर गरेको चार वर्षपछि उनी पक्राउ परेको प्रहरीले जनाएको छ। 

जिल्ला अदालत झापाले दोषी ठहर गर्दै २०७३ साल माघ ५ गते उनलाई नौ वर्ष १५ दिन कैद र ७८ हजार आठ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। 

विशाल ढुंगेलको जाहेरीका आधारमा लिम्बू अदालतबाट दोषी ठहरिएका थिए।

उनलाई उर्लाबारी–४ आइतबारेबाट नियन्त्रणमा लिएर बुधबार झापा अदालतमा बुझाइएको प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।

अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिसकेको छ।

प्रकाशित मिति: : 2021-02-03 18:07:00

प्रतिकृया दिनुहोस्