सु चीको गिरफ्तारीले निराश उनका नेपाली विद्यार्थी

हिमाल खबर

काठमाडाै‌ं

सजना बराल

बर्मामा सेनाले 'कू' गर्दै सत्ता हत्याएको र नेतृ आङ सान सु ची लगायत नेताहरुलाई गिरफ्तार गरेकोमा विश्वभर विरोध भइरहेको छ। त्यसमा पनि पाँच दशकअघि काठमाडौँको बौद्ध विहारमा सु चीसँग शिक्षा लिएका नेपाली विद्यार्थीले उनको शीघ्र रिहाइको कामना गरेका छन्।

गएको १९ माघमा बर्मामा सेनाले सत्ता कब्जा गरेर एक वर्षका लागि संकटकाल घोषणा गर्‍यो । नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङ सान सु ची, राष्ट्रपति विन मिन्टसहित मन्त्री र सांसदहरु गिरफ्तारीमा परे । सन् २०११ सम्म सेनाको प्रत्यक्ष शासनपछि प्रजातान्त्रिक अभ्यास गर्न थालेको बर्मामा फेरि छाएको सैन्य नियन्त्रणको विरोधमा विश्वभर आवाज उठिरहेको छ।  

बर्मामा भएको सैनिक 'कू' को विरोध र नागरिक अधिकार कायम गर्न माग गर्दै नेपालमा पनि प्रदर्शन गरिए । योसँगै नेतृ सु चीको रिहाइको माग पनि गरिएको छ । यसभन्दा अलग, सु चीको गिरफ्तारीबारे चिन्ता गर्ने शुभेच्छुक नेपालीहरु पनि छन्, जसले कुनै समय उनीबाट नेपालमै शिक्षा ग्रहण गरेका थिए । तिनै नेपाली विद्यार्थीमध्येकी एक हुन्, काठमाडौँ लाजिम्पाटकी त्रिलोचना तुलाधर । उनी बर्माको समस्या छिटै समाधान होस् र सु चीको यथाशीघ्र रिहा होस् भन्ने कामना गर्छिन्।

त्रिलोचनाले झण्डै पाँच दशकअघि काठमाडौँमा सु चीसँग अङ्ग्रेजी विषय पढेकी थिइन् । असन छेउको श्रीघः, नःघःस्थित धर्मकीर्ति विहारमा सु चीलाई पहिलो पटक भेटेको र कक्षा लिएको उनीसँग धमिलो सम्झना छ।

त्यही धमिलो विगततिर फर्कँदै त्रिलोचना सुनाउँछिन्, "शुरुमा हाम्रो विहारमा बर्मिज टिचर आएको छ रे भन्ने सुनिएको थियो । पछि उहाँसँगै पढ्न थाल्यौँ । सु चीले नै मलाई अङ्ग्रेजी अक्षर चिनाउनुभएको हो । मलाई पढाउने मान्छे यति ठूलो हुनुहुँदो रहेछ भन्ने थाहै थिएन।”

त्रिलोचनासहित उक्त विहारको 'अध्ययन गोष्ठी'मा करीब २० जना विद्यार्थी सु चीसँग पढ्थे । तिनैमध्येका अर्का हुन्, चिनिकाजी महर्जन । आफू पाँच वर्षको हुँदा सुचीसँग पढेको उनी स्मरण गर्छन्।
 

प्रकाशित मिति: : 2021-02-04 14:03:00

प्रतिकृया दिनुहोस्