राजाबिनाको नेपाली राजनीति रेफ्रीबिनाको खेल जस्तो छ : कमल थापा

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राजाबिनाको नेपाली राजनीति रेफ्रीबिनाको खेल जस्तो भएको बताएका छन् । नेकपा (प्रचण्ड) समूहले गरेको आमहड्तालका दिन उनले लामो ट्वीट गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

'अहिले नेपालको राजनीति रेफ्री विनाको खेल जस्तो छ। जसको शक्ति उसको भक्ति कायम छ', उनले लेखेका छन्, 'एकले अर्कोलाई समाप्त पार्ने प्रतिस्पर्धा चलेको छ। मुठभेड बढदै जाँदा राजनीतिक दल/नेताको नियन्त्रणबाट परिस्थिति बाहिर जान्छ।त्यो रिक्ततामा गैरराजनीतिक शक्ति र बिदेशीको हातमा देशको बागडोर जाने खतरा हुन्छ।' 

नेकपा (प्रचण्ड) समूहको नाम उल्लेख नगरी सो समूहलाई भनेका छन्, 'आमहड्तालका उनले राजा हटाएपछि लोकतन्त्रलाई कसैले चुनौती दिनसक्दैन भन्नेहरू अहिले लोकतन्त्रको हत्या भयो भन्दै सडकमा उत्रिएका छन्।'

संवैधानिक राजतन्त्र स्थापनाका लागि संघर्षरत राप्रपाका अध्यक्ष थापाको दाबी छ, ' राजसंस्था प्रजातन्त्रको बाधक होइन। संविधानको परिधिभित्र राख्ने हो भने नेपालको भूराजनीतिक अवस्थामा राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्छ।'

नेकपाका दुवै समूहलाई संयमित हुन सुझाव दिएका छन् । उनको धारणा छ, 'परिस्थिति विगार्न देशीबिदेशी शक्तिहरू क्रियाशील छन्।एकले अर्कोलाई गलत प्रमाणितगर्ने होडमा कोहीपनि अन्धो र मतिभ्रम नबनौं।'

केपी ओलीको गल्ती सच्याउन अर्को खतरनाक गल्ती नगर्न सुझाव दिँदै अध्यक्ष थापाले भनेका छन्, 'यो धरातलीय यथार्थ बुझेर र विगतका कमजोरी हटाएर सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्ने प्रयास गरौँ।'

प्रकाशित मिति: : 2021-02-04 18:46:00

प्रतिकृया दिनुहोस्