झारजङ्गलले छोपियो अर्बुद रोग निवारण संस्था

Photo - wikiwand
Photo - wikiwand

क्यान्सरका बिरामीलाई सहुलियतको सिफारिसलगायतको काम गर्दै आएका झापास्थित नेपाल अर्बुद रोग निवारण संस्था केही वर्षदेखि बन्द अवस्थामा छ।

भद्रपुर नगरपालिका–८ स्थित मेची प्रादेशिक अस्पताल परिसरभित्र १० कठ्ठामा निर्मित सो संस्थाको तीनकोठे पक्की भवन झारजङ्गलले छोपिएको छ। मूलढोकामा ठूलो ताला लागेको छ। विसं २०५० मा क्यान्सर रोग निवारणका लागि सचेतना जगाउन र बिरामीको उपचारमा सहुलियत प्रदान गर्ने उद्देश्यले भद्रपुरका समाजसेवीहरुले सो संस्थाको जिल्ला शाखा स्थापना गरेका थिए।

दाताको सहयोगमा बनाइएको भवन बेवारिसजस्तै बनेको छ। अर्बुद रोग निवारण संस्थाको कार्यालयलाई मेची अस्पतालको निर्माणाधीन भवनको सिमेन्ट थन्क्याउने गोदामका रूपमा प्रयोग गरिएको छ। आजीवन सदस्य र साधारण सदस्य बनाएर संस्थाको कार्यसमिति गठन गरिँदै आएको छ। स्थापनाकालमा थुप्रै कार्यक्रम गरेको समितिको गतिविधि अहिले ठप्प छ।

समितिका वर्तमान अध्यक्ष रुद्र भुर्तेलले समितिको बैठक कहिलेकाहीँ बस्ने गरेको बताए। कार्यालय भवन फोहर र बस्ने कुर्सी टेबुल नभएका कारण निजी घरतिर बैठक बस्दै आएको उनले बताए। संस्थाको आफ्नै भवनमा एउटा बैठक र अरु दुईवटा कार्यालय प्रयोजनका कोठा छन्। संस्थामा ६५ आजीवन सदस्य र १५ सदस्यीय कार्यसमिति रहेको अध्यक्ष भुर्तेलले बताए।

भक्तपुर क्यान्सर अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा उपचार सेवा लिन जाने बिरामीलाई सहुलियतका लागि सिफारिस गर्ने संस्थाको उद्देश्य भएको उनको भनाइ छ। तर पछिल्लो समय संस्थाले कसैलाई पनि सिफारिस गरेको छैन। पञ्चायतकामा राजपरिवारका सदस्यको नेतृत्वमा काठमाडौँमा अर्बुद रोग निवारण संस्थाको स्थापना भएको थियो। जिल्लाहरुमा यसको शाखा विस्तार गरिएको हो। रासस

प्रकाशित मिति: : 2021-02-05 08:45:00

प्रतिकृया दिनुहोस्