दुर्गा प्रसाईं थुनामा, मिश्र र धवल ‘फरार प्रतिवादी’

Break n Links
Break n Links

काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ। 

बुधबार मध्यरातमा आदेश जारी गर्दै अदालतले अरु ३२ जनालाई भने धरौटी जमानतमा रिहा गर्न भनेको छ। यसरी धरौटीमा रिहा हुनेहरूलाई १० हजारदेखि १ लाखसम्म धरौटी तोकिएको छ। 

दुर्गा प्रसाईंसँगै तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपानी रेग्मी, शुसिल बराल, केशव बस्नेत र कुमार तामाङ पुर्पक्षका लागि थुनामा गएका छन्। उनीहरूविरुद्ध आपराधिक उपद्रव, राज्यविरूद्धको कसुर र संगठित अपराध तथा   कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगसमेतमा मुद्दा छ। थुनछेक बहसपछि  दिनदेखि लेख्न थालिएकाे फैसला लगभग १५५ पन्नाकाे छ। जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले गरेकाे उक्क फैसला शुक्रबार बिहान १ बजेतिर सुनाइएकाे थियाे।

गत चैत १५ गते तीनकुनेमा राजावादीहरूको आन्दोलन थियो। त्यो आन्दोलन हिंसात्मक भएको थियो र एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो। गम्भिर घाइते केहीको अझै उपचार भइरहेको छ। 

आन्दोलनकारीले नीजि तथा सरकारी सम्पत्तिको तोडफोड र आगजनी गरेका थिए। भाटभटेनी सुपरमार्केट पनि उनीहरूले लुटपाट गरेका थिए। 

त्यो आन्दोलनका लागि कमाण्डर तोकिएका थिए दुर्गा प्रसाईं। उनले प्रदर्शनकारीलाई उक्साएर आफूचाहिँ प्रहरीको घेरा छेल्दै भागेका थिए। त्यसको १५ दिनपछि प्रहरीले उनलाई भारतबाट पक्राउ गरेर ल्याएको थियो। 

मेडिकल व्यवसायी दुर्गा प्रसाईं एमाले छोडेपछि बैंकको ऋण तिर्नुपर्दैन भन्दै देशभरका मान्छे राजधानी ल्याएर प्रदर्शन सुरु गरेका थिए। त्यसपछि विस्तारै उनी राजावादी हुन थाले। 

यसअघि नै हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल समशेर राणा भने अहिले सम्पर्कमा छैनन्। 

छुटेपछि अदालतको सम्पर्कमा नआएको भन्दै उनीहरूको जमानी बस्ने वकिललाई यसअघि नै ५० हजार जरिवाना तिराइएको थियो। उनीहरू सम्पर्कमा नआएपछि ‘फरार प्रतिवादी’को सूचीमा राखेर फेरि पक्राउ पूर्जीसमेत जारी भएको छ। 


 

प्रकाशित मिति: : 2025-06-13 06:59:00

प्रतिकृया दिनुहोस्