बेनी खानेपानीमा नयाँ नेतृत्व

म्याग्दी सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्ति गर्दै आएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा माधवप्रसाद रेग्मी चयन भएका छन्। शुक्रबार सम्पन्न २१ आँै वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनले रेग्मीको अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा रमेश गिरी, सचिवमा राजेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्षमा टङ्क हमाल चयन भएका हुन्। सदस्यमा यजनलाल शाक्य, डिलकुमारी पुर्जा, सिर्जना श्रेष्ठ, पुष्पा थापा र सुदर्शनकुमार श्रेष्ठ चयन भएका छन्। अधिवेशनको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गरे।

उनले संस्थाले बजारवासीलाई खानेपानीको सहज उपलब्धता गराउन खेलेको भूमिका रचनात्मक रहेको बताउँदे आगामी दिनमा थप व्यवस्थित खानेपानीको उपलब्धता हुनेमा विश्वास व्यक्त गरे।  कार्यक्रममा यस संस्थाले बेनी नगरपालिका, ७ र ८ बेनी बजार र वडा नम्बर २ हाँडेभिर क्षेत्रमा गरी एक हजार ६७ घरधुरीका करिब २० हजार जनसङ्ख्यालाई खानेपानी आपूर्ति गर्दै आएको जानकारी गराईएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले संस्थाको सम्पूर्ण पक्षको बारेमा सचिव गिरीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष हमालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

यसैबीच साधारणसभाले खानेपानीको महशुल शुल्कको समेत नयाँ दररेट निर्धारण गरेको छ। प्रतिमहिना १० युनिटसम्म न्यूनतम रु २२० शुल्क निर्धारण भएको छ। एघारदेखि २० युनिटसम्म प्रतियुनिट  २४, २१ देखि ३० युनिटसम्म प्रतियुनिट रु २६, ३१ देखि ४० युनिटसम्म प्रतियुनिट रु २८, ४१ देखि ५० युनिटसम्म प्रतियुनिट रुपैया ३० र  ५१ युनिटदेखि माथि प्रतियुनिट  ३२ रुपैयाका दरले शुल्क निर्धारण भएको कार्यालयका प्रबन्धक यामबहादुर विश्वकर्माले जानकारी दिए। रासस

प्रकाशित मिति: : 2021-02-06 08:23:00

प्रतिकृया दिनुहोस्