गोठमा आगलागी हुँदा २५ बाख्रा जले

बागलुङको निसीखोला गाउँपालिका–३ धारखर्कस्थित गोठमा आगलागी हुँदा २५ बाख्रा जलेका छन्। 

प्रहरी चौकी झिवाखोलाका प्रमुख जितु शाहका अनुसार आगलागी हुँदा स्थानीय विक्रम विकका २५ बाख्रा जलेको हो। 
बाख्रालाई दाना खुवाउनका लागि पानी तताउने क्रममा बाख्राको पाठोले आगो उछिट्याएपछि आगलागी भएको पीडित विकले जानकारी दिए।

'आगलागीले गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ' बाख्रासँगै छ कुखुरासहित गोठमा भएको घाँसपात र दाउरा सबै जलेर खारानी भएको छ' पीडित विकले भने। 

शुक्रबार भएको सो आगलागीमा परी ११ बाख्रा मरेका थिए भने १४ वटा गम्भीर घाइते भएका थिए। घाइते बाख्रा पनि मर्ने अवस्थामा पुगेपछि विकले गाउँलेलाई वितरण गरेको प्रहरीले बताएको छ। 

प्रकाशित मिति: : 2021-02-06 13:37:00

प्रतिकृया दिनुहोस्