विराटनगर महानगरपालिकाले एकैसाथ तीन आकाशे पुल निर्माण गर्ने भएको छ।
महानगरपालिकामा सवारी साधनको चाप बढ्न थालेपछि यातायता सुगमताका लागि रु दुई करोड ३९ लाख लागतमा आकाशे पुल निर्माण गर्ने भएको हो।
नगर क्षेत्रको धरान–विराटनगर सडकखण्डको कञ्चनबारी चोक, बरगाछी चोक र भट्टी मोड (घाँसचोक) गरी तीन ठाउँमा आकाशे पुल निर्माण गर्ने योजना महानगरपालिकाले अगाडि सारेको नक्शा शाखाका प्रमुख अर्जुन थापाले जानकारी दिए।
विराटगरको सौन्दर्य बढ्ने र सवारी दुर्घटना न्यूनीकरण गर्ने र मानिसलाई सडक वारपार गर्न सुविधा पुग्ने उद्देश्यले आकाशे पुल निर्माण गर्न लागेको हो।
‘विराटनगरको भित्री भागमा नगरपालिकाको खाली जग्गामा सामान्य उद्यान पनि बनाउने नगरपालिकाको योजना रहेको छ’ प्रमुख थापाले भन, ‘विराटनगरको कञ्चनबारी चोकमा रु ७८ लाख, बरगाछी चोकमा रु ६८ लाख र भट्टीचोकमा रु ९३ लाख लागतमा सो पुल निर्माण गर्न लागेको हो।’
मापदण्डअनुसार बन्ने सो पुल फलामका हुने उनको भनाइ छ।
‘तीनवटै पुल निर्माण गर्ने गरी योजना अगाडि बढाएको र केही दिनमै यसको शिलान्यास भई चालु आर्थिक वर्षमै योजना सम्पन्न हुनेछ’ उनले भने।
आकाशे पुल निर्माण भएपछि सडकमा जथाभावी सडक काट्ने बानी अन्त्य हुने बताउदैँ यसबाट सवारी दुर्घटना न्यूनीकरणमा पनि टेवा पुग्ने उनले बताए।