एनफिल्डमा सिटीको गोलको बर्षा

तस्वीर: एजेन्सी
तस्वीर: एजेन्सी

प्रिमियर लिगको शीर्ष क्लब म्यानचेस्टर सिटीले लिभरपुलको घरेलु मैदान एनफिल्डमा उसैविरूद्ध गोलको वर्षा गरेको छ। आइतबार राती लिभरपुलको भ्रमणमा रहेको सिटीका लागि इल्के गुन्डोगनले दुई महत्वपूर्ण, रहिम स्टेरलिङ र फिल फाडेनले एक–एक गोल गरेपछि लिभरपुल आफ्नै मैदानमा १–४ गोलले पराजित भयो। 

लिभरपुलका लागि मोहम्मद सालाहले पेनाल्टीबाट एक गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दास्रो हाफपछि पाँच गोल भएको थियो। 

गुन्डोगनले ४९ मिनेटमा सिटीका लागि गोल गरेका थिए। सालाहले ६५ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काउदै खेललाई बराबरीमा राखेपनि त्यो लामो समय टिक्न सकेन। बीचको १० मिनेट सम्हालिन नसक्दा लिभरपुलले तीन गोल खायो। गुन्डोगनले ७३ मिनेटमा अर्को गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए। लगत्तै ७६ मिनेटमा स्टेरलिङले गोल थपे। ८३ मिनेट हुँदा फोडेनले अर्को गोल थपिसकेका थिए। 

सिटी २२ खेलमा ५० अंकका साथ शीर्षस्थानमा छ। लिभरपुल २३ खेल खेलेर ४० अंकका साथ चौथो स्थानमा यथावत छ। 
आइतबार भएको अन्य खेलमा टोटेनहामले २–० ले वेस्ट ब्रुमलाई पराजित गर्यो। हेरी केन र सन ह्याङ–मिनले क्रमशः ५४ र ५८ मिनेटमा गरेको गोलका कारण टोटेनहाम २२ खेलमा ३६ अंक बटुलेर आठौं स्थानमा उक्लिएको छ। ब्रुम पुछारबाट दोस्रो स्थानमा छ। 

अंक तालिकाको तेस्रो स्थानमा रहेको लिस्टर सिटी भने उल्फसँगको खेलमा गोलरहित बराबरीमा रोकियो। लिस्टर २३ खेलमा ४३ अंक बटुल्दै तेस्रो स्थानमा छ। उभन्दा माथि म्यानचेस्टर युनाइटेडको ४५ अंक छ।

प्रकाशित मिति: : 2021-02-08 07:56:00

प्रतिकृया दिनुहोस्