प्रतिनिधि सभा विघटन असंवैधानिक भन्नेले मात्र होइन स्वीकार्नेले पनि फिर्ता गरेनन् गाडी !

लोकान्तर

काठमाडौं

विघटित प्रतिनिधि सभाका सांसद विमलप्रसाद श्रीवास्तवले प्रयोग गर्दै आएको गाडी संघीय संसद् सचिवालयमा कार्यरत एक उपसचिवले आइतवार (माघ २५ गते) मागेर लगे ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापतिको हैसियतले श्रीवास्तवलाई संघीय संसद् सचिवालयले बा २ झ ४४२९ नम्बरको स्कोर्पियो उपलब्ध गराएको थियो । 

'आज बिहानै मेरो समितिमा काम गर्नुहुने उपसचिव शिवदत्त बरालले फिर्ता लिएर जानुभयो,' श्रीवास्तवले  भने, 'संसद् विघटन भइसकेका कारण अब गाडी पनि फिर्ता गर्नुपर्छ भन्दै उहाँ आफैंले चलाएर गाडी लैजानुभएको छ ।'

श्रीवास्तवसँग फिर्ता लिइएको गाडीका सम्बन्धमा संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डे र समितिका सचिव झलक शर्मा सापकोटा दुवैले अनविज्ञता प्रकट गरे । 

'उहाँले गाडी फिर्ता गर्नुभएको कुरा हालसम्म सचिवालयमा जानकारीमा आएको छैन । फिर्ता भएको हो वा उपसचिवले लिएको हो भन्नेबारे केही भन्न सकिएन,' प्रवक्ता पाण्डेले भने।

श्रीवास्तवले गाडी फिर्ता लगेको भनेर भनेपनि उपसचिव शिवदत्त बरालले गाडी निजी प्रयोजनका लागि मात्र लिएको बताए ।

'सचिवालयका लागि उहाँसँग मैले गाडी फिर्ता लिएको होइन, आफ्नो निजी प्रयोजनका लागि एक दिनलाई मात्र गाडी लिएको हो,' बरालले  भने, 'मैले आफ्नो काम सकाएर उहाँलाई गाडी फिर्ता गरिदिएको छु।'

तर, श्रीवास्तवले भने आफूले गाडी फिर्ता नपाएको जिकिर गरे ।

प्रकाशित मिति: : 2021-02-08 15:05:00

प्रतिकृया दिनुहोस्