पक्राउ गर्न रामकुमारी झाँक्रीलाई खोज्दै प्रहरी

गगन अर्याल

काठमाडाै‌ं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीले खोजी शुरू गरेको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।

भीभीआईपीलाई गालीगलौज गरेको अभियोगमा गृह मन्त्रालयको निर्देशनमा महानगरीय अपराध महाशाखाले नेत्री झाँक्रीलाई खोजिरहेको छ ।

‘भाषणहरूमा गालीगलौज गरेको आरोपमा पक्राउ गर्नेका लागि निर्देशन आएको छ, हामीले खोजिरहेका छौं,’ महाशाखाका एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘उहाँ अहिले उपत्यकाबाहिर हुनुहुन्छ । २८ गते आउने भन्ने खबर छ, आउनासाथ पक्राउ गर्ने योजनामा छौं ।’

गत बुधवार नेकपा ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ) ले नेत्री झाँक्रीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्र बुझाएका थिए । गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदै अनेमसंघले झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको भन्दै पक्राउ गरी कारबाही गर्न माग गरेको थियो । 

प्रकाशित मिति: : 2021-02-09 12:12:00

प्रतिकृया दिनुहोस्