४० वर्ष भन्दा कम उमेरका महिला विदेश जाँदा घर र वडाको अनिवार्य सिफारिस!

देशसञ्चार

काठमाडाैं

काठमाडौँ – अध्यागमन विभागले पहिलोपटक विदेश भ्रमण गर्ने ४० वर्ष भन्दा कम उमेरका महिलालाई त्यसका लागि परिवारको सहमति र वडा कार्यालयको सिफारिस अनिवार्य रुपमा चाहिने व्यवस्था प्रस्ताव गरेको छ।

अध्यागमन विभागका सूचना अधिकारी टेकनारायण पौडेलका अनुसार विदेशमा नेपाली महिलाहरु धेरै समस्या परेको तथ्यांकलाई हेरेर आफूहरुले परिवारको सहमति र वडाकार्यालयको सिफारिस अनिवार्य गर्नु पर्ने व्यवस्था प्रस्ताव गरेको बताए ।

केही दिनअघि आफूहरुले सो प्रस्ताव गृह मन्त्रालयमा बुझाएको बताएका सूचना अधिकारी पौडेलले भने, ‘विशेष गरी ४० वर्षका महिलाहरु विदेश गएर कोही अलपत्र पर्ने, जोखिममा पर्ने देखिएकाले त्यस्तो अवस्था नआओस्, उहाँहरुको वैदेशिक भ्रमण व्यवस्थित होस्, घरमा पनि जानकारी होस्, स्थानीय पालिका पनि तथ्यांक रहोस् भन्ने हिसाबले हामीले सो प्रस्ताव गरेका हौँ ।’

उनले दाबी गरे, ‘हामीले भ्रमण गर्ने व्यक्तिको हित रक्षाका लागि यस्तो व्यवस्था गरेका हौँ ।’

४० वर्षमुनिको पुरुषको हित रक्षाको विषय चाहिँ के हुन्छ, त्यसका लागि केही सोच्नु भएन? भन्ने प्रश्नमा अध्यागमन विभागको प्रशासन शाखाका निर्देशक समेत रहेका सूचना अधिकारी पौडेलले भने, ‘त्यो चाहिँ हामीले सोचेनौँ, प्रस्ताव त्यो गरेका छैनौँ । विशेष गरी पुरुष भन्दा महिला बढी जोखिममा परेको र बढी दुःख पाएकोले गर्दा उहाँहरुकै हित रक्षाका लागि, उहाँहरुको संरक्षणका लागि यस्तो व्यवस्थाको प्रस्ताव गरेका हौँ।’

उनका अनुसार विगतमा विदेश भ्रमण गरिसकेका ४० वर्षमुनिका महिलाको हकमा भने सो व्यवस्था लागू नहुने प्रस्ताव गरिएको छ।

विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसा सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो ।

प्रकाशित मिति: : 2021-02-10 15:32:00

प्रतिकृया दिनुहोस्