‘अनलाइन ट्रेन्ड’ : आज भाइरल, भोलि गुमनाम !

लोकान्तर

काठमाडाै‌ं

गोरखाकी ‘तरकारीवाली’ एकाएक  सामाजिक सञ्जालमा भाइरल भएर आइन् । रातारात उनको चर्चा भयो ।

उनी संसारमा कसैले नगरेको काम गरेर भाइरल भएकी त होइनन् तर सामान्य पहिरनमा तरकारी बेच्न जाँदा कसैले तस्वीर खिचिदियो, फेसबूकमा राखिदियो । एकाएक त्यो तस्वीर देश–विदेशसम्म पुग्यो । 

थामिनसक्नु चर्चापछि उनले चलचित्र ‘लम्फु’ खेलिन् तर चलचित्र भाइरल भएन । एकाएक भाइरल भएकी उनी चलचित्रको असफलतासँगै गुमनाम भइन् ।

नेपाल आइडलबाट नरेश पातली, झक्कड थापा पनि विना सुर र आवाज एकाएक चर्चामा आए । उनीहरूले आवाज दिएका भिडियोका क्लिप्स सामाजिक सञ्जालमा निकै भाइरल भए । दिनमै १०–१५ वटा मिडियामा अन्तर्वार्ता दिनुपर्ने बेला आएपछि अन्तर्वार्ता दिएबापत पैसा माग्न थाले । 

जहाँसुकै चर्चा भएपछि ‘सक्किगो नि’का निर्देशक तथा कलाकार कुमार कट्टेलले त्यसबेला ‘भद्रगोल’ खेलाए । भद्रगोलबाट उनीहरू झन् चम्किए तर पछि दुवै जना बिस्तारै सेलाए । अहिले उनीहरू कहाँ के गर्दैछन् पत्तो छैन ।

गायिका कमला घिमिरे, अशोक दर्जी, अर्जुन विक र अहिले फेरि गुल्मीका सचिन विक भाइरल भइरहेका छन् । कतिसम्म भने यूट्युबका टप ४ ट्रेन्डिङमा सचिनका गतिविधि छन् । सचिनले केही हप्तामै आधा दर्जनजसो गीत ल्याइसकेका छन्् ।

प्रकाशित मिति: : 2021-02-13 11:10:00

प्रतिकृया दिनुहोस्