यो सरकार हुतिहारा हैन : प्रधानमन्त्रीको

File Photo
File Photo

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने काममा बढी ध्यान दिन उद्योग व्यवसायीलाई आह्वान गरेका छन्। नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घद्वारा शनिबार आयोजित राष्ट्रिय उद्योग व्यवसायी भेलालाई सम्बोधन गर्दै ओलीले भने, “सकेसम्म हाम्रा जमीन, जङ्गल, जडिबुटी आदिको कसरी अघिकतम सदुपयोग  गर्न सकिन्छ। त्यतापट्टी लाग्नुस्। सरकारले पूर्ण सहयोग गर्छ। यो सरकार हुतिहारा खालको सरकार होइन। दृढता भएको केही गरौँ भन्ने सरकार हो।”

प्रधानमन्त्रीले कोभिड—१९ का कारण प्रतिकूल असर परेका बेला कुनै क्षेत्रले अधिक लाभ लिने र कुनै अत्याधिक खस्किने कुरा हुन नसक्ने बताए। बैंक र वित्तीय संस्था फस्टाउन भन्ने पक्षमा आफू रहेको तर सँगै त्यसबाट ऋण लिएर काम गर्ने व्यवसायी पनि त्यसको सावा ब्याज तिर्न सक्ने अवस्था हुनुपर्ने उनकाे भनाइ छ।

कोभिड–१९ ले पारेको प्रतिकूल अवस्थाका बाबजुद नेपालको आर्थिक अवस्था नखस्किएको उल्लेख गर्दै प्रधानमन्त्रीले अहिलेको प्रगति कायम राख्न सकिए सन् २०२२ सम्ममा दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्न सकिने अवस्था रहेको उल्लेख गरे।  प्रधानमन्त्री ओली सरकारले गरेका काम लिएर जनतासम्म जान पनि उद्योगी र व्यवसायीलाई आग्रह गरे। 

पार्टीका केही नेताले सरकारलाई सहयोग गरेको भए धेरै काम गर्न सकिने अवस्था रहेको उनकाे भनाइ थियो। “पार्टीका शीर्ष नेतामा कुनै ठाउँमा खुट्टा टेक्दा केपी ओलीलाई फाइदा हुन्छ भने त्यहाँ नटेकेर अन्तै टेक्ने प्रवृत्ति छ”, उनले भने।

प्रकाशित मिति: : 2021-02-15 19:40:00

प्रतिकृया दिनुहोस्