मेरो निर्वाचन क्षेत्रमा राम जन्मिएको पुष्टि भए सबभन्दा खुसी त मै हुन्छु: प्रचण्ड

राजेश घिमिरे

नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले माडीमा राम जन्मिएको पुष्टि भए सबभन्दा बढी खुसी आफू नै हुने बताएका छन्।

मंगलबार चितवनमा पत्रकारसँगको अन्तर्क्रियामा उनले पहिले पुरातत्व अन्वेषणबाट राम जन्मिएको पुष्टि गरिनु पर्ने बताए। 

‘पुरातत्व अन्वेषणबाट त्यो प्रमाणित भयो मेरो निर्वाचन क्षेत्रमा अयोध्या हो, मेरै निर्वाचन क्षेत्रमा राम जन्मिएको हो भन्ने पुष्टि भयो, त्यसलाई स्थापित गर्न सकियो भने नेताहरूमध्ये सबैभन्दा खुसी मेरै भागमा पर्छ नि त। म त्यसको किन विरोध गर्ने?,’ उनले भने, ‘प्रचण्ड सिध्याउन त्यो ल्याएँ भन्ठान्नुभएको छ उहाँ, प्रचण्ड त झन् खुसी हुन्छ नि आफ्नो निर्वाचन क्षेत्रमा अयोध्या र राम जन्मिएको प्रमाणित भएमा।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राम मन्दिरको कुरा राजनीति गर्नका लागि र प्रचण्ड सिध्याउने अभियानका लागिमात्रै गरेको आरोप लगाए।

‘मेरो चुनौती के हो उहाँलाई भने तपाईं त्यस्तो कुरो त बडो ब्लफ दिनुभएको छ, पुरातात्विक अन्वेषण गरेर त्यसलाई स्थापित र प्रमाणित गर्न तपाईंले के गर्नुभो? त्यहाँचाहिँ एउटा माखो नमार्ने, सिन्को नभाँच्ने, होहल्लाचाहिँ ठूलो गर्ने?’ प्रचण्डले भने, ‘होहल्ला नगरेर प्रमाणित गर्न लाग्नुस् सबैभन्दा अगाडि बढेर तपाईंलाई सहयोग गर्छु भन्या छु मैले।’

उनले राम मन्दिरको कुरामा राजनीति गरेर प्रचण्ड सिध्याउने अभियान चलाउँछु भन्ठाने ओली आफैं गड्डामा पर्ने बताए।

प्रकाशित मिति: : 2021-02-16 11:54:00

प्रतिकृया दिनुहोस्