गाउँ–गाउँमा भारतीय कवाडीवालाले साट्दै छन् गिलाससँग पुरानो मोवाइल 

तेजन खड्का

उर्लाबारी

पैसा कमाउन जे व्यवसाय गरे पनि हुन्छ तर मेहनत र लगनशील हुनुपर्छ।

कोरोनाको कहर घटेपछि पछिल्लो एक महिनायता भित्री मोरङका गाउँमा सिसाका गिलाससँग थोत्रा र पुराना मोवाइल साट्ने भारतीयहरू छ्याप–छ्याप्ति भेटिन थालेका छन्। साइकलको हेण्डिलमा एउटा सानो माइक छ।

माइकमा रेकर्डिक भएको विज्ञापन सामग्री लगातार बजिरहन्छ– त्यो पनि नेपाली भाषामा। माइकले भन्छ– ‘थोत्रो मोवाइल दिनुहोस नयाँ दुई वटा शिसा गिलास लानुहोस, घरबाट फोहोर हटाउनु होस।’

नेपाली बोल्न नजान्ने उनीहरू त्यही प्रचारका भरमा भारतसँग नजिकका गाउँमा पुग्छन् र थोत्रै मोवाइलसँग सिसाका गिलास साट्छन्।

नेपालका गाउँ–गाउँमा मोवाइलको पहुँच पुगेको मुस्किलले एक दशक भयो। तर, गिलाससँग मोवाइल साटेरै भारतको बिहारस्थित कटिहार जिल्लाका ३० वर्षीय सराजुल मियाँ मासिक २० हजार रुपियाँ कमाइ गर्छन्।

सराजुल मात्र होइन, भारत सितामडी जिल्लाका ३२ वर्षीय मोहम्मद अयुवसहित ८ जनाको टोली मोरङका गाउँ–गाउँमा गिलाससँग मोवाइल साट्दै हिँड्छन्।

यसअघि थोत्रे प्लाष्टिक, टिन फलामसँग नून,प्याज लसुन साट्ने सराजुल र अयुवहरू यति बेला भारतका कवाडी ब्यापारीले पुराना मोवाइलको माग गरेपछि मोवाइल खोज्दै हिँड्न थालेका हुन्।

अयुवले भने, ‘नेपालमा पुराना मोवाइलको काम छैन, भारतमा जुनसुकै ब्राण्डको थोत्रे मोवाइल बिक्री हुन्छ।' अयुवका अनुसार एन्ड्रोइड मोवाइल भारु २ सय ५० मा र साधारण मोवाइल ५० रुपियाँमा बिक्री हुने गरेको सुनाए।

त्यति मात्रै होइन। उनीहरू सिलिन्डर ग्यासको ‘रेगुलेटर’ थोत्रे ‘इमरजेन्सी लाइट’ समेत गिलाससँग साट्ने गर्छन्।

एक महिनायता ब्यापार थालेका सराजुलले भने– नेपालमा ब्यापार हुँदैन। भारु ६ रुपियाँमा दुई थान गिलास आउँछ। उनले गिलास पनि भारतबाटै ल्याउने र मोवाइल पनि भारतमै बिक्री गर्ने गरेको बताए।

गिलास लिएर आउँदा र थोत्रे मोवाइल लिएर जाँदा उहाँहरूलाई भन्सारमा समेत समस्या छैन। अर्का मोवाइल सङ्कलक मजारले भने, ‘सानो ब्यापार गर्नेलाई कसैले सोध्दैन्।’
 

प्रकाशित मिति: : 2021-02-18 14:51:00

प्रतिकृया दिनुहोस्