इतिहास बन्नबाट चुकेको महिला लिग

दीप सुवेदी

काठमाडाैं
photo : anfa
photo : anfa

पहिलो पटक डबल राउण्ड रोबिनमा आयोजना भएको राष्ट्रिय महिला लिग सम्पन्न भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले लामो समयसँग खेलाडीलाई व्यस्त राख्ने उदेश्यका साथ महिला लिग आयोजना गरेको थियो। 

यसअघि कतिपय कल्बले पुरुष टोलीलाई मात्रै डबल राउण्ड रोबिनमा लिग खेलाएर महिला लिगमा भाग लिने खेलाडी आफूमा भएको क्षमतालाई पूर्णरुपमा प्रस्तुत गर्न नपाउँदै लिग सकिने गरेको भन्दै एन्फाको आलोचना हुने गरेको थियो। 

यसै आलोचनाबाट केही हदसम्म छुटकरा पाउन एन्फाले महिला लिग पनि फरक तरिकाले गर्ने सोच बनायो। तर लिगलाई इतिहास बनाउने योजनासहित ‘क्यालेन्डर’ बनाएको एन्फालाई थिलथिलोमा पारिदियो लामो समयसम्म राष्ट्र देखिएको कोरोना भाइरसले।

गत चैतमै हुनुपर्ने महिला लिग कोरोना महामारीकै कारण रोकिएको थियो। तर, सरकारले खेलकुद गतिविधि अघि बढाउँन अनुमति दिएसँगै एन्फाले महिला लिगको आयोजना गरेको थियो।

कोरोनाको प्रभावका कारण लिग सोचेभन्दा अलि फरक भयो। यसपटकको महिला लिगमा हरेक टोलीले एकअर्कासँग दुईपटक खेल खेलेका थिए। ३ विभागीय टोली र ४ नगरपालिका गरी ७ टोलीको सहभागितामा डबल लेगमा लिग सञ्चालन गरिएको थियो।

तर क्यालेन्डरमा यहि योजना भएपनि लिग सन्तोषजनक भने हुन सकेन। कोरोनाका कारण अन्तर्राष्ट्रिय फुटबलको नै सेड्युल फिफाले टाइट गरेको भन्दै लिग सुरु गर्नुभन्दा सक्न हतार गरेजस्तै गरियो।

यद्यपी लिग भने सकिएको छ। तर अंक तालिकाको शीर्षस्थान र पुछारको टोलीको अंकअन्तरलाई हेर्ने हो भने आकाश जमीनकै फरक छ। एपीएफले ११ खेलमा अपराजित हुँदै ३३ अंक जोड्दा दयपुरको चौदण्डीगढी नगरपालिकाले भने खाता नै खोल्न सकेन।

चौदण्डीगढ मात्रै होइन चन्द्रपुर र विराटनगरको खेल पनि हेर्न लायक भने देखिए। यी टोली एन्फाले २०७६ को जेठ– असारमा उपमेयर अन्तर नगरपालिका फुटबल प्रतियोगिताका सञ्चालन गरेर त्यसबाट उत्कृष्ट ठहरिएका ४ समूहलाई राष्ट्रिय लिगका लागि ल्याइएको थियो। 

मैदान र टाइट सेड्युल

विभागीय तीन टोलीको भने काठमाडौंमै सुविधासमपन्न खेल मैदान छ। कोरोनाका कारण लिग अनिश्चित भएछि नियमित अभ्यास लामो समयदेखि स्थगित गरिएको थियो। उनीहरुले पनि लिग हुने चर्चा सुरु भएपछि बल्ल तयारी सुरु गरेका हुन्।

यद्यपी तुलनात्मक रुपमा नगरपालिकाका टोलीको भन्दा विभागीय टोली अलि बलियो भएपनि स्कोरमा चुकेको देखियो। लामो समयपछि मैदान फर्कदा खेलाडीलाई गार्हो भएको दुबै टिमका प्रशिक्षकले समेत स्वीकारे।

‘लामो समयपछि मैदान फर्कदा खेलाडीलाई गाह्रो हुनु स्वभाविक नै हो। मैत्रिपूर्ण खेल पनि भएन।  एकैपटक खेल्दा राम्रो मुमेन्ट भएपनि स्कोरमा पटकपटक चुक्यौं। फिनिसिङ भएन,’ आर्मीका मुख्य प्रशिक्षक राजु तामाङले भने।

यता खेलाडीको ड्युटी भएका कारण पनि राम्रो खेल्न नपाएको उनी बताउँछन्।‘खेलाडी पनि विभागीय ड्युटीमा हुने गर्छ। त्यसमाथि टाइट सेड्युलले गर्दा हामीले सोचेअनरुप खेल देखाउन सकेनौं,’ राजुले भने।

एन्फाका लिग निर्देशक संजीव मिश्रले पनि लिगको तयारी प्रयाप्त नभएको स्वीकार्छन्। ‘अन्तर्राष्ट्रिय फुटबलको नै सेड्युल फिफाले टाइट गरेको छ। नेपाली फुटबलमा पनि त्यसको असर परेको हो। हामीले अलि समय लिएर महिला लिगको तयारी गर्ने अवसर पाएको भए राम्रो गर्न सक्थ्यौं,’ मिश्रले भने।

कमजोर फिटनेस

लिगको आधा खेल नसकिँदै क्लबलाई खेलाडी चोटले सताउन थालेको थियो। लिगमा विभागका खेलाडीमा भन्दा नगरपालिकाका खेलाडीमा फिटनेस समस्या देखियो। कमजोर फिटनेसलाई खेलाडी चोटग्रस्त बन्नसक्ने एउटा कारण मानिन्छ।

नियमित र भरपर्दा खेलाडीलेनै चोट बोक्दा मोफसलबाट अन्तिम चरण खेल्न काठमाडौंं आएको टोलीमा लिगका आधा खेल बाकी रहँदै चोटका कारण खेलाडीनै अपुग हुने सम्भावना देखियो।

एपीएफले चौदण्डीगढीलाई २२–० ले हराउँदा टोलीकी नियमित गोलकिपरले नभई रक्षक अञ्जना थुलुङ गोलपोष्ट सम्हालेकी थिइन्। टोलीका तीनै जना गोलकिपर घाइते भएपछि अञ्जनालाई खेलाउन टोली बाध्य भएको थियो।

चौदण्डीगढीका मुख्य प्रशिक्षक दीपक थापाले खेलाडीमा चोटको समस्या टोलीका लागि एउटा टाउको दुखाइ बनेको बताए। 

‘महिला लिग यसअघि हप्ता दिनमात्रै संचालन हुन्थ्यो। चोटको समस्यामा खासै हुन्थेन। यसपटक लिगको अवधि बढ्यो। साथमा खेलाडीको चोटको समस्या बल्झियो। खेलाडी अभावमा एउटा पोसिजनका खेलाडीलाई फरक पोजिसनमा खेलाउन बाध्य भयौं,’ उनले भने।

चौदण्डीगढीले मात्रै होइन चोटको समस्या रौतहटको चन्द्रपुर नगरपालिका र एपीएफले पनि भोग्नु पर्यो। नियमित कप्तान रोजिना श्रेष्ठ मुर्छा परिरहँदा हस्पिटलनै भर्ना हुनुपर्यो। 

यस्तै नेपाल यू–१९ महिला टोलीबाट प्रतिनिधित्व गरिसकेकी डिफेन्डर समिक्षा घिमिरे सहित यू–१६ टोलीको गोलरक्षक पुजा थापा पनि घाइते भइन्।  मिडफिल्डर दिल कुमारी राना मगरले मैदाननै छाडिन्। स्ट्राइकर सविता राना मगरलेसमेत डिफेन्समा झरेर खेलेकी थिइन्।

यता गोलरक्षक युनिशा राईले समेत सामान्य चोट बोकेकी थिइन्। यस्तै एपीएफकी सावित्रा भण्डारी पनि चोट बोकेर एक वर्ष मैदान बाहिर हुने निश्चित भइसकेको छ।

उनी राष्ट्रिय महिला लिग अन्तर्गत सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलका क्रममा घाइते भएकी थिइन्।

दायाँ घुँडामा चोट लागेपछि बिएन्डबीमा एमआरआई गरेकी उनको रिपोर्ट मंगलबार आएको छ। रिपोर्टको प्रारम्भिक अध्ययनले घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको र अन्य चोट पनि देखिएको छ।

सावित्राले जारी लिगमा १० खेल खेल्दै ४३ गोल गरेकी थिइन्। 

‘विभाग बाहेकको टोलीमा महिलामा मात्र होइन, पुरुष खेलाडीमा पनि फिटनेसको कमी हुन्छ। फिटनेस भन्नाले दौडने मात्रै हुँदैन। फुटबलका लागि चाहिने अन्य केही फिटनेस टेस्ट हुन्छ त्यो अहिले लिगमा गरिएको छैन जसको कारण धेरै खेलाडी घाइते भैरहेका छन्,’ लिग निर्देशक मिश्र भन्छन्।

यसका साथै कृत्रिम मैदानमा खेल भएका कारण पनि खेलाडीले बढी बोक्नु परेको उनी बताउँछन्। ‘प्रदेशका टोलीहरुले प्राकृतिक मैदानमा खेलेका थिए। अहिले कृत्रिम मैदानमा खेल भैरहेको छ। यसका कारण पनि खेलाडीलाई समस्या भएको हो,’ उनी भन्छन्।यसका साथै लगातार खेल हुँदा खेलाडी दबाबमा परेर घाइते भएको उनी स्वीकार्छन्। 

‘खेलाडी लिगमा आएर मात्रै फिट हुन्छु भनेर हुँदैन। खेल सुरु हुनुभन्दा ३ महिना अगाडीदेखि नै खेलाडीले फिटनेसमा ध्यान दिनु जरुरी छ। खाना, पानी कम खानुका कारण पनि घाइते हुने सम्भावना हुन्छ। त्योबाहेक आन्तरिक र बाहिरी कुराको प्रभाव परेर पनि खेलाडी घाइते हुनेगर्छन्,’ निर्देशक मिश्र भन्छन्।

यता पुलिसका मुख्य प्रशिक्षक संजिब जोशीले आफ्ना खेलाडीमा फिटनेसको समस्या धेरै नआएको बताए।‘डेढ दुई महिनाको तयारी थियो। त्यसैकारण फिटनेसको समस्या धेरै आएन,’ जोशीले भने।

देखिएन विदेशी खेलाडीको प्रभाव

लिगलाई व्यवस्थित बनाउने भन्दै महिला फुटबल सुरु भएको झण्डै ३८ वर्षपछि विदेशी खेलाडी भित्र्याइएको थियो। यसअघि विकास क्षेत्र र विभागीय टिमलाई समावेश गर्दै महिला लिग सञ्चालन हुँदै आएको थियो।

१ सय ५८ खेलाडीमध्ये ८ जना विदेशी खेलाडी खेलाइएको थिए। ८ विदेशीमध्ये दक्षिण एसियाका ४ र अन्य देशका ४ जना थिए। वालिङले ४ विदेशी खेलाडी उतारेको थियो। यता विराटनगरले पनि ४ जना विदेशी खेलाडी मैदानमा उतारेको थियो। 

पुछारमा रहेको चौदण्डीगढी नगरपालिकाले पहिलो लेग सकिएपछि प्रतियोगितामा विदेशी खेलाडी भित्र्याएको थियो। तर महँगो खर्च गरेर खेलाडी भित्र्याएपनि उपलब्धि भने देखियो शून्य। यता वालिङका विदेशी खेलाडी पनि खासै ‘जलवा’ भने देखाउन सकेनन्। 

यता अन्य टोलीले भने विदेशी खेलाडीलाई चासो दिएनन्। राष्ट्रिय टोलीका खेलाडीहरुको बाहुल्यता रहेको विभागीय टोलीले विदेशी खेलाडी भित्र्याउने गरेको थिएनन्।

विदेशी खेलाडी भित्र्याएको टोलीमा भने समस्या बढी मात्रामै देखिएको थियो। खासमा अफ्रिकन खेलाडीमा अंग्रेजीको ज्ञान कम हुनु र नेपाली खेलाडी पनि अंग्रेजीको ज्ञान कम हुनुले खेलमा समन्वय अभाव देखियो। 

एन्फाका लिग निर्देशक संजीव मिश्र भन्छन्,‘कतिपय खेलाडी चुलोचौकाया गर्दै फुटबललाई अगाडी बढाइरहेका हुन्छन्। उनीहरुमा भाषिक समस्या छ। यसका साथै विदेशी खेलाडी पनि अंग्रेजी समस्या देखियो। त्यसैले तालमेल राम्रो देख्न पाइएन।’

यही एक कारण मात्रै होइन टाइट खेल सेड्युलका कारण पनि विदेशी खेलाडीले नेपालमा राम्रो प्रभाव छाड्न चुकेको बताउँछन् उनी।

‘विदेशी खेलाडीहरु ल्याएर घुलमिल नहुँदै भोलिपल्टै देखि  मैदानमा लैजाँदा समन्वय अभाव देखियो हो। खासमा उनीहरु बलमै रुमलिएको देखिन्थो। प्रयाप्त अभ्यास र खेलाडी चिन्ने मौका नपाएको कारण उनीहरुले प्रभाव जमाउन सकेनन्,’ उनले भने। 

तर आगामी लिगमा भने यसलाई सुधार गर्नसके विदेशी खेलाडीको सहभागिताले लिग प्रतिस्पर्धात्मक बन्ने उनी बताउँछन्।

‘अभ्यासको लागि प्राप्त समय दिए विदेशी खेलाडीले पनि राम्रो प्रभाव देखाउन सक्थे। तर यसले भविष्यमा अन्य टोलीलाई पनि विदेशी खेलाडी ल्याउन प्रेरित गर्ने देखिन्छ। विदेशी खेलाडीको प्रभाव बढी देखिए स्थानीय खेलाडीले नै लाभ पाउने हुन्,’ मिश्र भन्छन्।

रेफ्रिको भूमिकामै प्रश्नचिन्ह्र

लिगमा रेफ्रीको निर्णयमाथि प्रश्न उठेको थियो। एन्फाले महिला लिगको लागि १३ रेफ्रिलाई अवसर दिएको थियो। १३ मध्ये दुई मात्रै पुरुष रेफ्री थिए। जसमा ८ सहायक रेफ्री रहेका थिए भने ५ मुख्य रेफ्री थिए।

नेपालमा सेन्टर (मुख्य) रेफ्री कम भएसँगै रेफ्री संघले दुई पुरुष रेफ्रीलाई अवसर दिएको थियो। तर आर्मीका मुख्य प्रशिक्षक तामाङले खेलमा रेफ्रीहरुले गलत निर्णय गरेको आरोप समेत लगाए।

आर्मी र चौदण्डीबीचको खेलमा मुख्य रेफ्री अस्मिता मानन्धर थिईन्। यस्तै पहिलो सहायक रेफ्रीमा मेरिना धिमाल थिइन्। यता दोस्रो सहायक रेफ्रीमा सुनिता राई रहँदा फोर्थ रेफ्रीमा उमा श्रेष्ठ रहेकी थिइन्। रेफ्रि एसेसरमा भने कल्पना शर्मा रहेकी थिइन्।

उक्त खेलमा आर्मीले चौदण्डीलाई ९–० गोल अन्तरले हराएको थियो। तर,  खेलमा टिमले पाएको पेनाल्टीलाई फउलको संज्ञा दिनु र अन्य समय समेत सहायक रेफ्रीबाट गलत निर्णय भएको प्रशिक्षक तामाङले आरोप लगाए। 

‘रेफ्रीको निर्णय नै विवादास्पद थियो।अनावश्यक अफसाईड, खेलाडीलाई लडाएपछि पाउनुपर्ने पेनाल्टीलाई फउल दिइएको थियो। यो अलि सामान्य खेल थियो। तर ठूलो खेल र प्रतिस्पर्धात्मक खेलमा यस्ता निर्णयले ठूलो समस्या आउन सक्छ। यसमा एन्फा चुकेको स्पष्ट देख्न सकिन्छ,’ उनले भने।

यता विराटनगरसँग पराजित भएपछि पुलिस प्रशिक्षक संजिब जोशीले समेत  रेफ्रीको भूमिकामा प्रश्न गरे। ‘विभागको खेलमा विभागीय रेफ्रीलाई अवसर दिनु हुँदैन थियो।  विभागको खेलमा विभागीय रेफ्रीको निर्णय फेयर हुँदैन यसमा पनि एन्फा चुकेकै हो,’ उनले भने।

लिग निर्देशक सन्तुष्ट

एन्फाका लिग निर्देशक मिश्र  आफू सन्तुष्ट रहेको बताउँछन्। ‘लिग सहभागी टोलीको प्रदर्शन सन्तोषजनक मान्नुपर्छ,’ उनले भने, ‘छोटो तयारीका बाबजुद लिग सकाउन पाउनु राम्रो हो।’

अहिले आएका केही अप्रत्याशित नतिजाले पनि नगरपालिकाका टोलीले भविष्यमा उत्कृष्ट खोल देखाउन सक्ने उनको तर्क छ।

‘केही नगरपालिकाले महिला फुटबलमा राम्रो सम्भावना देखाएका छन्। नगरपालिकाका टोलीले भविष्यमा अझै बढी तयारीका साथ आउनुपर्ने अनुभूति गरेको छ। भविष्यमा बलियो टोली बनाउनका लागि यो सिक्ने अवसर पनि हो,’ मिश्र भन्छन्।

केही नगरपालिकाको प्रर्दशन भने सोचेजस्तो हुन नसकेको लिग निर्देशक मिश्रको ठम्याइ छ।

‘टिमको स्तरमा प्रतियोगितामा सन्तुलन नदेखिएको हो। केही टोलीको प्रदर्शन सन्तोषजनक छ। पास राम्रो खेलिरहेका थिए, बल कन्ट्रोल गरिरहेका थिए। केहिले सुधार गर्नुपर्ने थुप्रै पक्ष छन्। धेरै ट्याक्टिकल पक्षहरुमा अभाव देख्छु। त्यो कुराहरु कोचले सिकाउनु पर्ने हुन्छ,’ उनले भने।

प्रकाशित मिति: : 2021-02-20 22:14:00

प्रतिकृया दिनुहोस्