राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन जरुरी : उपप्रधानमन्त्री पोखरेल

विजय साह

जनकपुर 

उपप्रधानमन्त्री ईश्वर पोखरेलले देशमा राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन जरुरी रहेको बताएका छन्।

धनुषा चेम्बर अफ कमर्सको जनकपुरमा आयोजित तेस्रो साधारणसभा कार्यक्रममा बोल्दै उनले निर्वाचनपछि देशमा राजनीतिक स्थिरता कायम हुने विकास र समृदतर्फ फड्को मार्ने बताए। 

सरकारले तोकेकै मितिमा निर्वाचन हुने बताउँदै उपप्रधानमन्त्री पोखरेलले निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन समेत दिएका थिए।

'ताजा जनादेशका लागि सबै तयार हुनुपर्दछ। ताजा जनादेश मात्र होइन राजनीति स्थायितव र मुलुकको निकासका लागि समेत निर्वाचन नै एकमात्र विकल्प रहेकाले सरकारले घोषणा गरेको आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुन्छ भन्ने ढुक्क रहनुहोस्' उनले कार्यकर्तालाई भने। 

केहि गलत तत्वहरुले सरकारलाई काम गर्न नदिई धरापमा पार्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गरेको छन्।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले बहुमत दिएका सरकारलाई धक्का दिएर लडाउन खोजेपछि जनताको बहुमतलाई कदर गर्न जनताबाटै निर्णय होस भन्ने उद्देश्यले संसद विघटन गरि जनताको बिचमा जाने निर्णय गरेका हुन्। 

'हामीलाई सबैले गलत भनिरहेको छ तर निर्वाचनबाट नै जनताले सही गलतको पहिचान गर्नेछ। जनताभन्दा बढी ठूलो न्यायधिश कोही छैनौ' उनले भने, 'हामी गलत छौं भने जनताले दण्डित गर्छन्। यदि सही छौं भने जनताले आफ्नो अमूल्य मत दिएर पुरस्कृत गर्नेछ।'

प्रकाशित मिति: : 2021-02-20 19:46:00

प्रतिकृया दिनुहोस्