प्रधानमन्त्रीको धम्की : संसद पुनर्स्थापना भए आन्दोलन !

अनलाइनखबर

काठमाडाैं

८ फागुन, विराटनगर । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासले फैसला गर्नुपूर्व देश निर्वाचनमा गइसकेको सन्देश दिन नेकपा ओली समूहले विराटनगरमा शनिबार सभा गर्‍यो । प्रदेशका विभिन्न जिल्लाबाट आएका कार्यकर्ता तथा सहभागीलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं समूहका अध्यक्ष केपी शर्मा ओलीले भनेका छन्, ‘कुनै प्रकारको षड्यन्त्र, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ ।’

यसअघि प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड-माधव समूहले प्रयोग गरेको शब्दको हो- सेटिङ । ओली समूहका नेताहरुले देशभर नै ‘हाम्रो सबैतिर सेटिङ भइसकेको छ, संसद विघटन सदर हुन्छ, सूर्य चुनाव चिन्ह पनि हाम्रै हुन्छ’ भन्दै हिँडेको भन्दै प्रचण्ड-माधव समूहका शीर्षनेताहरुले खबरदारी गर्दै आएका छन् ।

तर, शनिबार बिराटनगरमा ठीक उल्टो सुनियो । चुनाव हुन्छ-हुन्छ भन्ने दाबी गरेका प्रधानमन्त्री ओलीले ‘सेटिङ’मा संसद पुनस्र्थापना भए आन्दोलन गर्ने चेतावनी दिए । ओलीले भने, यदि कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ । फेरि पनि हामी त्यस्ता शक्तिलाई पराजित गर्छौं ।’

प्रकाशित मिति: : 2021-02-20 20:58:00

प्रतिकृया दिनुहोस्