बास्तोलाको हत्या भएको भन्दै परिवार आन्दोलित 

तेजन खड्का

उर्लाबारी

गत पुस ५ गते मृत फेला परेका उर्लाबारी ६ का ३१ वर्षीय युवा प्रवीण बास्तोलाको हत्या भएको भन्दै मृतकका परिबार आन्दोलित बनेका छन्।

आइतबार प्रहरी कार्यालय उर्लाबारी पुगेका उनीहरूलाई प्रहरीले बल प्रयोग गरी हटाएपछि आज पुन उनीहरू प्रहरी कार्यालय अगाडी प्रदर्शन र नाराबाजी गरिरहेका छन्।

घटनाको मिसिल बनाउँदा प्रहरीले मृतकको सट्टामा अर्कै व्यक्तिको तस्बिर राखेको मृतककी बहिनी सदिक्षा बास्तोलाले बताएकी छन्।

यस्तै मृतकका ज्वाइँ दीपेन्द्र पौडेलले यो घटनामा प्रहरीको पनि मिलेमतोको आशङ्का गरेका छन्। उनले घटनालाई कमजोर पार्न खोजेर प्रहरीले न्याय मारेको उनले बताए।

यसैबीच इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेलले प्रहरीले घटनामा कुनै कमी कमजोरी नगरेको बताएका छन्।

उनले प्रहरीले गरेको अनुसन्धानमाथि शङ्का नगर्न पनि आग्रह गरेका छन्।

मृतकका परिवारले किटानी जाहेरी दिएपछि जोरहीका आधारमा पक्राउ परेका व्यक्तिहरुलाई सरकारी वकिलको कार्यालयसम्म पुर्‍याएको र ठोस सबुत प्रमाणको अभावमा उनीहरूलाई सफाइ दिएको उनको भनाइ छ।

अहिले पनि मृतकका आफन्त तथा छिमेकीहरूले इलाका प्रहरी कार्यालय उर्लाबारी अगाडी प्रदर्शन र नाराबाजी गरिरहेका छन्।

अहिले केहिबेरमा मृतकका परिवार तथा आफन्तसँग प्रहरीले छलफल गर्न लागेको छ।


 

प्रकाशित मिति: : 2021-02-22 14:18:00

प्रतिकृया दिनुहोस्