संसद् पुनर्बहाली भए पनि नारा–जुलुश र ढुङ्गामुढा गर्दैनौँ : प्रधानमन्त्री ओली

File Photo
File Photo

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्बहाली भएमा आफूले नारा–जुलुश र ढुंगामुढा गर्ने आन्दोलन नगर्ने प्रष्ट पारेका छन्।

सुदूर पश्चिम प्रदेशको कञ्चनपुरमा आयोजित छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि रचनात्मक आन्दोलन गर्न चाहेको प्रष्ट पारे। ‘मैले त देश बनाउने आन्दोलन, लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन भनेको थिएँ।

उनीहरुले त नारा जुलुश बुझेछन्’, उनले भने, ‘राजनीति, अर्थतन्त्र, सामाजिक पक्ष, संस्कृति सबै पक्षको आन्दोलन निरन्तर चलिरहन्छ भनेको हुँ। नारा जुलुश गर्ने, ढुंगा मुढा गर्ने आन्दोलन भनेको होइन।’

उनले आफूले अदालतलाई धम्की वा दबाब नदिएको पनि स्पष्ट पारे। ‘अहिले प्रतिनिधिसभा विघटन भएको छ।

देश चुनावतर्फ अघि बढेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘केही मान्छे यस्तो भयो भने आफ्नो राजनीति सकिन्छ भनेर छट्पटाइरहेका छन् तर हाम्रो राजनीति जे भए पनि सकिँदैन।’

प्रतिनिधिसभा विघटनपछि देश चुनावतिर गइसकेको पनि उनले बताए। सबै नेता कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिए।

दुई दिनअघि विराटनगरमा आयोजित आमसभामा ओलीले संसद् पुनर्बहाली भएमा त्यसविरुद्ध आन्दोलन गर्ने बताएको भन्दै नेकपाको विपक्षी प्रचण्ड समूह, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायतले विरोध गरेका थिए।

प्रकाशित मिति: : 2021-02-22 17:10:00

प्रतिकृया दिनुहोस्