‘उद्यमीको हात, प्रदेश सरकारको साथ’

रासस

वाग्मती
File Photo
File Photo

वाग्मती प्रदेशले आर्थिक संवृद्धिका लागि उद्योगको विकास एवं संरक्षणमा जोड दिएको छ।

उद्योगको विकास भएमा रोजगारीका साथै आर्थिक विकासमा सहयोग हुने विश्वास लिइएको छ। यसका लागि प्रदेशले उद्योगमा लगानी गर्न वातावरण बनाउन विभिन्न कार्यक्रम ल्याएको छ।

गत एक वर्षका अवधिमा घरेलु तथा साना उद्योग क्षेत्रमा रु २४  अर्ब १८ करोड  लगानीसमेत भएको छ। सोही अवधिमा दुई हजार ३९५ उद्यमी थपिएको बताइएको छ। 

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योद्वारा एक वर्षको अवधिमा २४ अर्ब भन्दा बढीको लगानी भएको छ।  

विगत  तीन वर्षका अवधिमा एक लाख ४० हजार २९५ साना घरेलु उद्योग दर्ता भएको मन्त्रालयको सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिए। सो अवधिमा १२ हजार ३२३ नयाँ वाणिज्य फर्म पनि दर्ता पनि भएको छ। 

‘उद्यमीको हात, प्रदेश सरकारको साथ’ भन्ने सोचका साथ बेरोजगार युवा तथा विदेशबाट फर्किएका जनशक्तिलाई लक्ष्यित गरी उत्पादन वृद्धि,  रोजगारी सिर्जना र प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालित छ। कार्यक्रम अन्तर्गत  एक हजार २९ प्रविधि हस्तान्तरण भएको उनले जानकारी दिए। 

चौध साझा सुविधा केन्द्र तथा २१ बजार घर तथा बहुकृषि उपज केन्द्र स्थापना भएको छ। ‘एक निर्वाचन क्षेत्र, एक उद्योगग्राम’ कार्यक्रम अन्तर्गत पाँच स्थानमा उद्योगग्राम निर्माण प्रक्रिया शुरुआत भएको छ।

दश स्थानको वातावणीय  अध्ययन  सम्पन्न भएको मन्त्रालयले जनाएको छ। सिन्धुलीको हरिहरपुरगढीमा  तीन हजार ६०० रोपनी जमीनमा  प्रदेश औद्यौगिक क्षेत्र निर्माण शुरुआत गरेको छ।

शहरी क्षेत्रमा ‘एक घर, दुई बिरुवा’ र ‘सबै स्थानीय तहमा एक वडा एक बगैँचा’ अभियान कार्यक्रम अन्तर्गत  शहरी क्षेत्रको सडक र नदी किनार क्षेत्रमा वृक्षरोपणसमेत गरिएको बताइएको छ। साथै उक्त मन्त्रालयले ४५  महत्वपूर्ण पदमार्गसमेत निर्माण गरेको छ। 

प्रदेशभरी करीब ४३ किलोमिटर पर्यटनमैत्री पदमार्ग निर्माण भएको बताइएको छ। हटौँडाको मयुर धापमा नयाँ औद्यौगिक क्षेत्र स्थापनाको कार्य पनि अगाडि बढाइएको हेटौँडा औद्योथिक क्षेत्र व्यवस्थापनको कार्यालयका प्रमुख राजेन्द्र कँडेलले जानकारी दिए।

उद्योग खालेर मात्र हुँदैन यसको दिगो सञ्चालन र व्यवस्थापल आवश्यक रहेको काष्ट उद्योगी रामपुकार ठाकुरले बताए।
 

प्रकाशित मिति: : 2021-02-22 17:18:00

प्रतिकृया दिनुहोस्