भेद्भाव र असमानता अन्त्य नभएसम्म सङ्घर्ष जारी रहन्छः  जनता समाजवादी पार्टीका अध्यक्ष यादव

रासस

जनकपुर
Photo : deshsanchar
Photo : deshsanchar

जनता समाजवादी पार्टीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले मुलुकमा जारी भेद्भाव र असमानता अन्त्य नभएसम्म सङ्घर्ष जारी रहने बताएका छन्। । 

जमिअत उलमाए नेपालद्वारा आज जनकपुरमा आयोजित मुस्लिम समुदायको समस्या तथा समाधान विषयक अन्तरक्रिया र उपेन्द्र यादवद्वारा लिखित ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ नामक पुस्तकको उर्दू संस्करणको विमोचन कार्यक्रममा उनले सो कुरा बताएका हुन्।   

अध्यक्ष यादवले मुलुकमा ठूलठूला राजनीतिक परिवर्तन भए पनि शासकीय मानसिकता, प्रशासकीय नजरिया र प्रशासनिक शक्तिमा परिवर्तन हुन नसकेको कारण भेदभाव र असमानता यथावत रहेको उल्लेख गरे । 

सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायलाई शिक्षामा जोड दिँदै अशिक्षाकै कारण मुस्लिम समुदाय गरिबी र असमानताको सिकार भएको उल्लेख गरे।

मुस्लिम समुदायलाई मुलुकको मूलधारमा ल्याउनु आजको आवश्यकता रहेको उल्लेख गर्नुहुँदै उनले प्रदेश सरकार त्यसै दिशामा अघि बढेको स्पष्ट  पारे। 

प्रकाशित मिति: : 2021-02-22 21:00:00

प्रतिकृया दिनुहोस्