अमेरिकाका लागि नेपाली राजदूतले भौतिक रूपमा बुझाउन पाएनन् ओहोदाको प्रमाणपत्र

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त युवराज खतिवडाको फोटो क्याप्सन परिवर्तन भएको छ। दूताबासको आधिकारिक वेभसाइटमा राखिएको उनको ‘फुल वायोग्राफी’मा शीर्षक र क्याप्सन दुबैमा अब एम्बेसडर देख्न सकिन्छ।  

दूताबासले सोमबार एक प्रेस विज्ञप्ती जारी गरी राष्ट्रपति जो बाइडनले राजदूत खतिवडाको ओहोदाको प्रमाणपत्र स्वीकार गरिएको जनाएको छ।

विज्ञप्तीमा ओहोदाको प्रमाणपत्र अमेरिकी विदेशमन्त्रालयमार्फत ह्वाइटहाउसमा पठाइएको उल्लेख छ। कोभिड १९ का कारण भौतिक रूपमा उपस्थित भएर ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न नसकिएको उल्लेख गर्दै राष्ट्रपति बाइडेनका तर्फबाट ओहोदाको प्रमाणपत्र प्राप्त भएको जानकारी दिदै खतिवडालाई स्वागत गरिएको उल्लेख छ।

डा. खतिवडाका लागि यो एक खल्लो सुरूवात हो। यसअघिका अन्य राजदूतले भौतिक रूपमै ओहोदाको प्रमाणपत्र बुझाएर राष्ट्रपति र प्रथम महिलासँग तस्विर खिचाएर आफ्नो जीवनको यायदगार क्षणका रूपमा सजाउने गर्थे।  तर, डा. खतिवडालाई त्यो अवसर जुरेन र सम्भवत: अब उनको जीवनमा अमेरिकी राष्ट्रपतिसँग भौतिक रूपमा भेट्ने सपना अधुरै रहने जस्तो छ।

अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले भौतिक रूपमा उपस्थित भएर ओहोदाको प्रमाणपत्र बुझाउन पाएनन्।  उनले पत्रमार्फत ओहोदाको प्रमाणपत्र बुझाएर आफ्नो कार्यकाल सुरू गरेका छन्। योसँगै कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य भएर पनि अमेरिकाका लागि राजदूत बनेका उनको नाममा ओहोदाको प्रमाणपत्र  हुलाकबाट  प्रस्ततु गर्ने राजदूतको अर्को कीर्तिमान पनि बनेको छ।

यो खल्लो सुरूवातका लागि नेपाली दूताबासले कोभिड १९ लाई कारण देखाए पनि यसले नेपाल अमेरिकाको खासै महत्वका सूचीमा नरहेको संकेत गर्छ।

डा. खतिवडा पछिल्लो समय खड्गप्रसादको पोष्यपुत्रका रूपमा चर्चाको शिखर चढेका थिए। एकपछि अर्को गरेर लाभकारी पदहरू फालिम लगाएका खतिवडा आफ्ना विधाताका कारण के भए भन्दा पनि के भएनन् भन्नुपर्ने स्थिति छ।

क्याविनेट स्तरको मन्त्री बनाउँन खड्गप्रसादको कोटामा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यसमेत हुन पुगेका खतिवडा कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य भएर पनि अमेरिकाको लागि नेपाली राजदूत हुने भाग्यमानी हुन्। उनी अमेरिकाका लागि कम्युनिष्ट पृष्ठभूमीका पहिलो नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीको उत्तराधिकारीका रूपमा वासिङ्डन डीसी आइपुगेका हुन्।

उनले ओहोदाको प्रमाणपत्र भर्चुअल्ली प्रस्ततु गर्ने पहिलो नेपाली राजदूतको कीर्तिमान बनाएका छन्। यो उनको पहिलो कीर्तिमान हो वा कीर्तिमानहरूको सुरूवात हो, त्यो भने भविष्यक गर्भमा छ।  

प्रकाशित मिति: : 2021-02-23 08:14:00

प्रतिकृया दिनुहोस्