आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ     

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

आफ्नै बुवा ५८ वर्षीय जुम बहादुर कामीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

अन्नपूर्ण गाउँपालिका-३ पाउँदुरकोट घर भई हाल पोखरा महानगरपालिका-३२ महकुना बस्ने ३४ वर्षीय रामकृष्ण कामीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

घरको भर्‍याङबाट लडेर जुम बहादुरको मृत्यु भएको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवा मुकाम डाँडाकोनाकबाट प्रहरी घटनास्थल पुगेको थियो।

घटना शंकास्पद देखिएपछि अनुसन्धान गर्दा आइतबार राति बाबु छोराबीच विवाद भएपछि रामकृष्णले काठले प्रहार गर्दा बाबु जुम बहादुरको मृत्यु भएको खुल्न आएको थियो।

प्रहरीले घटनास्थलबाट रगत लागेको ढोका लगाउन प्रयोग हुने चारपाटे काठ बरामद गरेको छ।

रामकृष्णलाई कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

प्रकाशित मिति: : 2021-02-24 15:37:00

प्रतिकृया दिनुहोस्