हरिबहादुर रावत
हुम्लाको सिमकोट गाउँमा प्रत्येक वर्षको फागुन १२ गते मात्र मनाइने पर्व हो ‘चैतलो’।
विशेष पर्वका रुपमा मनाइने चैतलो पर्व यहाँका महिलाले धुमधामका साथ मनाएका छन्।
श्रीमान्को मनोकांक्षा पूरा होस् भन्ने भाकल गर्दै उनीहरुले गाउँको सार्वजनिकस्थलमा गीत गाउँदै नाचेर यो पर्व मनाएका हुन्।
यसलाई यहाँका सधवा महिलाहरूले पीत वस्त्रधारण गरेर गाउँको सामुहिक सभास्थल ‘चौपाडी वा भुओखाडो’ मा सामूहिक गीतनाचका रुपमा खेल्ने गरिन्छ। बसन्तलाई स्वागत गर्ने पर्वका रुपमा पनि यसलाई मान्ने गरिन्छ।
गाउँ गाउँ टोल टोलबाट पीत वस्त्रधारण गरेर विभिन्न प्रकारका गरगहनाहरू लगाई सामूहिक रुपमा खेल्ने गीतनाच नै ‘चैतलो’ हो।
गाउँका सबैलाई पायक पर्ने ठाउँ जसलाई स्थानीय भाषामा ‘चौपाडी, सभाथाडो, भुओखाडो’ भनिन्छ, त्यस ठाउँमा जम्मा भएर जेष्ठताका आधारमा पंक्तीबद्ध भई ‘बाह्र भाई नौ दुर्गा भवानी’ को प्रस्तती लगायत ऋतुहरूको बारेमा गुणगान गाउने गीतनाच खेल्ने गरिन्छ।
यहाँ शुरुमा देवदेवी र पञ्चभूतत्वलाई खुशी पार्न माङ्गल, चुड्कीला, चाड्ची, आरती र प्रस्तती गाइन्छ भने त्यसपछि रमाइलोका लागि चुड्कीला र देउडा खेल्ने गरिन्छ।
हरेक वर्ष फागुन १२ गते परम्परादेखि नै मनाउँदै आएको चैतलो पर्व सिमकोट गाउँपालिकाको वडा नं १, २, ५ र ६ का महिलाले धुमधामका साथ मनाउनु भएको स्थानीयवासी लोग भण्डारीले बताए।
श्रीमान्को मनोकामना पूरा होस् भनेर बिहानैदेखि व्रत बसेर नुहाइधुवाई गरेर महिला गीत गाउन सार्वजनिक स्थलमा जाने गर्छन्।
शरीरमा गाउन लगाउने र पहेँलो कपडा ओडेर गीत गाउँदै नाच्ने महिलाको लस्करले निक्कै रमाइलो देखिन्छ।
उमेर अनुसार जेठीबाट कान्छी क्रमशः दुई लाइनमा लाग्छन्। मुख्य गीत गाउने एक एक जना अगुवा हुन्छन् अरुले उनको गीतलाई साथ दिएर गाउने गर्छिन्।
एक हप्ता अगाडिदेखि गीत गाउने अभ्यास पनि महिलाले गर्छन्। देवी देवता र भगवानको प्राथनाका साथै दुई पक्षबीच सवालजवाफ पनि हुने गर्छ।
एक आपसमा मनका पीरमर्का पनि गीतबाटै व्यक्त गर्ने गरिन्छ। एक वर्षमा घरमा मान्छे नमरेको प्रत्येक घरबाट एक जना महिला चैतलो नाच्न जाने गरिन्छ।
श्रीमान् बितेकी महिला भने उक्त गीत गाउन जानुहुन्न भन्ने सामाजिक मान्यता छ। चैतलो पर्वमा महिला नाचेको रमाइलो हेर्न टाढाटाढाका गाउँबाट पनि मानिस आउने गरेको उनले बताए।
चैतलो गीत गाउँ गएकी महिलालाई आफन्त तथा माइती पक्षले मीठा परिकार बनाएर खुवाउने गरिन्छ। यसका साथै धामी पनि नाच्ने गरिन्छ भने राति महिला पुरुष मिलेर देउडा गीत गाउने गरिन्छ।
यसलाई यस क्षेत्रको तीजभन्दा पनि ठूलो मान्ने गरिन्छ। आफ्ना पतिको दीर्घायुको कामना गर्दै नयाँ आउने ६ ऋतुहरूको शुरुवाति ऋतु बसन्तको आगमनलाई स्वागत गरेर वर्षभरी नै राम्रो होस् भन्ने कामनाका साथ प्रकृति र संस्कृतिलाई संयोजन गर्ने गराउने पर्वका रुपमा ‘चैतलो’ लाई मानिंइदै आएको छ।
यो गीती नाचपछि आफ्न्त र नजीकका मित्रहरूलाई घरमा बोलाएर पुरी, खिर, भात, सेल, मासुलगायत अन्य विभिन्न मिष्ठानका परिकारहरु खुवाउने चलन रहेको छ।
यो विशेष पहिरन र आभूषण लगाएर सधवा महिला तथा कन्या केटीहरूले मात्र खेल्ने पाउने महिला पर्व हो।
यो पर्वमा चैतलो खेल्ने जाने ‘चैतालई रानी’हरूले अनिवार्य रुपमा रेशमी कपडाको पीत वस्त्रको लामो लुगा ओड्नु पर्ने परम्परा नौलो र मौलिक रहेको सिमकोट गाउँपालिका वडा न। ५ की लक्ष्मी रोकायाको भनाइ छ।
चैतलो पर्वका विभिन्न प्रकार भए पनि सिमकोट र ठेहे गाउँका खश ९क्षेत्री० समुदायले मान्ने विशेष प्रकारको यो पर्वका बारेमा खोजी गर्नुपर्ने आवश्यकता देखिन्छ।
यसलाई संस्कृति र प्रकृतिलाई अन्तरघुलन गर्ने गराउने एक सशक्त माध्यम मानिएको छ।
हाम्रा यस्ता चाडपर्वहरूले हाम्रो समाजलाई गतिशील बनाउने काम गरेका छन्। यसको प्रचारप्रसार गर्न गराउन सकेमा सांस्कृतिक पर्यटनका लागि पनि लाभदायक हुने विश्वास गर्न सकिन्छ। रासस